प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नामिबियामाथि नेपालको ऐतिहासिक जित, एउटै खेलमा बन्यो कीर्तिमानै कीर्तिमान

२०७९ फाल्गुन २, मंगलबार १५:१९ बजे

काठमाडौं – नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत नामिबियामाथि दुई विकेटको ऐतिहासिक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ४७.४ ओभरमा पूरा गरेको हो।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले १ सय १३ बलमा १ सय १५ रनको सानदार शतकीय इनिङ खेले । उनले १० चौका र ४ छक्कासहितमा उक्त रन जोडेका हुन् । त्यस्तै कप्तान रोहित पौडेल ७६ बलमा ७ चौका र ३ छक्कासहित ७२ रन बनाए । नामिबियाका रुबेन ट्रम्पलम्यान र जेन निकोलले ३/३ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा पुरै विकेट गुमाउदै २ सय ८५ रन बनाएको थियो। नामिबियाका माइकल भान लिंगेनले १ सय ३७ बलमा सर्वाधिक १ सय ३३ रनको कीर्तिमानी इनिङ खेलेका थिए ।

नेपालका करण केसीले १० ओभरमा १ मेडन खर्चेर ६१ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए ।

नेपालको यो जितमा थुप्रै कीर्तिमानहरू भएको छ।

अहिलेसम्मकै उच्च स्कोर

नेपालले नामिबियाले दिएको लक्ष्य पछ्याउने क्रममा ८ विकेटको क्षतिमा २८७ रन जोडेको थियो । उक्त रना नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर हो। यसअघि नेपालले पपुवा न्युगिनीविरूद्ध ८ विकेटको क्षतिमा २८६ रन जोडेको थियो।

सर्वाधिक ठूलो लक्ष्य पूरा

नेपालले ओडिआईमा पूरा गरेको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि नेपालले २०१९ मा युएईविरुद्ध तेस्रो ओडिआई खेलमा २ सय ५५ रनको विजयी लक्ष्य ४४।४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेलमा पारस खड्काले शतक हानेका थिए ।

करण केसीको तेस्रो पाँच विकेट
करण केसीले नेपालका लागि तीन पटक पाँच विकेट कीर्तिमान बनाए। उनले २९ एकदिवसीय खेल मध्ये तीन खेलमा ५ विकेट लिन सफल भएका हुन्। करणले टी२० अन्तर्राष्ट्रियमा पनि एक पटक पाँच विकेट लिन सफल भएका छन्।

नामिबियामाथि पहिलो जित
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियामाथि पहिलो पटक हराउन सफल भएको छ । नेपालले अन्य पाँच प्रतिद्वन्द्वीलाई हराएको थियो । तर नामिबियालाई हराउन सकेको थिएन ।

उच्च साझेदारी
नेपाललाई जिताउन तेस्रो विकेटका लागि कुशल भुर्तेल र रोहित पौडेलले १ सय ३३ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए । जुन ओडिआईमा नेपालबाट बनेको कुनैपनि विकेटको लागि उच्च साझेदारी थियो । गतवर्ष पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १ सय २९ रनको साझेदारी गरेका थिए ।

कुशलको कीर्तिमानी शतक
कुशल भुर्तेल ओपनिङ ब्याटिङ गर्दै ओडिआईमा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । ओडिआईमा यो नेपालको चौथो शतक हो । पारस खड्काले २०१९ मा युएईविरुद्ध १ सय ९ बलमा १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । गतवर्ष पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा रोहित पौडेलले पहिलो खेलमा १ ससय २६ रन र दोस्रो खेलमा दीपेन्द्रले १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए । 

रोहित र सोमपालको सर्वाधिक खेल
रोहितकुमार पौडेल र सोमपाल कामी नेपालका लागि सर्वाधिक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बनेका छन्। नामिबियाविरुद्ध मैदान उत्रिएसँगै उनीहरुले समान ३३/३३ एकदिवसीय खेलेका छन् । त्यस्तै दोस्रो सथानमा रहेका आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले नेपालका लागि ३२/३२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

रोहितको एक हजार रन
कप्तान रोहितकुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पूरा गर्ने नेपालका पहिलो ब्याटर बनेका छन्। उनले ३३ खेलमा १०१७ रन जोडेका छन्। उनले सन् २०१८ मा एकदिवसीयमा डेब्यू गरेका थिए ।

नेपालविरुद्ध विपक्षीको उच्च प्रदर्शन, लगातार दोस्रो शतक
ओडिआई इतिहासमा नेपालविरुद्ध नामिबियाका ब्याटरले बनाएको यो उच्च योगफल बनाउन सफल भएको छ । नामिबियाका ब्याटर माइकलले नेपालविरुद्ध १ सय ३३ रन बनाए । नेपालविरुद्ध उनको यो लगातार दोस्रो शतक हो । उनले गत डिसेम्बरमा नेपालविरुद्ध १ सय २१ रनको शतकीय इनिङ खेलेका थिए । माइकल अघि नेपालविरुद्ध २०२२ मा अमेरिकाका स्टिभ टेलरले १ सय १४, ओमानका जिशान मकसुदले १ सय ४ रन अविजित, अकिब इलायसले २०२० मा १ सय ९ रन अविजित, २०२१ मा जतिन्दर सिंहले १ सय ७ र मोनांक पटेलले १ सय रनको शतकीय इनिङ खेलेका थिए ।