प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले लिए शपथ, चार सांसद अनुपस्थित

२०७९ पौष ७, बिहीबार ०९:३३ बजे

काठमाडौं – प्रतिनिधि सभामा नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार एक कार्यक्रमबीच ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सांसदहरुलाई शपथ गराएका हुन् । नवनिर्वाचित २६ जना सांसदले भने विभिन्न १४ मातृभाषामा शपथ लिभएको संसद् सचिवालयले जनाएको छ ।

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानून बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधि सभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ ।

ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

सपथ ग्रहणमा ४ जना सदस्य अनुपस्थित 

प्रतिनिधि सभाको सपथ ग्रहणमा ४ जना सदस्य अनुपस्थित भएको छन् । नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आले, नेकपा (माओवादी केन्द्र)का महिन्द्रराय यादव र राकुमार राई र नेपाली काँग्रेसका माया राई अनुपस्थित भएको संघीय संसद सचिवालयले जनाएको छ ।

२७५ जना सदस्यमध्ये ४ जना मात्रै सपथ ग्रहणमा अनुपस्थित भएको सचिवालयका सहायक प्रवक्तासमेत रहेका उपसचिव दशरथ धमालाले जानकारी दिए । प्रेमबहादुर आलेको आमाको निधन र माया राई सुत्केरी भएका कारण अनुपस्थित भएको बुझिएको छ ।

महिन्दराय यादव नागरिकताका अनुसार जेष्ठ सदस्य भएको तर, जेष्ठ सदस्यका रुपमा सपथ ग्रहण नचाहेका कारण अनुपस्थित भएको बुझिएको छ । रामकुमार राई हवाई उडानमार्फत काठमाडौं आउने तयारीमा भए पनि मौसम खराबीका कारण समयमा उडान हुन नसकेपछि अनुपस्थित भएको बुझिएको छ ।