प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एनपीएल: आज प्लेअफका दुई रोमाञ्चक खेल हुँदै

२०८१ पौष ३, बुधबार ०७:५४ बजे

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज प्लेअफ चरणका दुई महत्त्वपूर्ण खेल हुनेछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलहरू तय गरिएको छ।

पहिलो खेल बिहान ९ बजे तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्सबीच हुनेछ। यो खेलको विजेता दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।

दोस्रो खेल दिउँसो १ बजे शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबीच हुनेछ। यस खेलको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित टोलीले दोस्रो क्वालिफायरमा प्लेअफको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

दोस्रो क्वालिफायर खेल भोलि (पुस ३) दिउँसो १२ बजे हुनेछ। यस खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।

फाइनल खेल आउँदो शनिबार (पुस ५) हुनेछ।

एनपीएलको प्लेअफ चरणको यो प्रतिस्पर्धा घरेलु र अन्तर्राष्ट्रिय खेलप्रेमीका लागि निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।