प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, ११ जना घाइते

२०८१ पौष ५, शुक्रबार २०:०९ बजे

दाङ – दाङमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिक वडा नं. १० गुर्जेखोला नजिकै शुक्रबार दिउँसो साढे १ बजेतिर भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने बसमा सवार ११ जना घाइते भएका छन्।

घोराहीतर्फ आउँदै गरेको रा १ ख ८१६ नं. को बसले विपरीत दिशाबाट जाँदै गरेको रा ५ प ६६५४ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–१० निवासी ४४ वर्षीय दिलिप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते केसीलाई उपचारका लागि घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इश्वर थापाले जानकारी दिए।

Laxmi bank
दुर्घटनामा घाइते हुनेहरू रोल्पा त्रिबेणी गाउँपालिका–४ बस्ने बर्ष २८ का बीरबहादुर डाँगी, राप्ती गाउँपालिका–.५ बस्ने बर्ष ३१ का प्रेम सुबेदी, तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डी बस्ने बर्ष ४५ की देवा बिक, तुलसीपुर–.१६ बस्ने बर्ष ५४ की सिताकुमारी अधिकारी,तुलसीपुर–१९ बस्ने बर्ष ३८ की तुलसा खड्का रहेका छन्।

त्यसैगरी घोराही उपमहानगरपालिका–९ बस्ने बर्ष ६० का बलबहादुर डाँगी,घोराही–५ बस्ने बर्ष २४ की साबित्रा बस्नेत,घोराही– ३ बस्ने बर्ष ३४ का रामसिंह चौधरी, घोराही–१२ बस्ने बर्ष ३७ का नरबहादुर वली, घोराही–९ बस्ने बर्ष २२ की सिता बिश्वकर्मा र घोराही– १५ बस्ने बर्ष २४ का दिप परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एव प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए। प्रहरी नायव उपरीक्षक थापाका अनुसार प्रहरीले बस चालक घोराही–१८ फुर्सेखाली निवासी बर्ष ५३ का गोपाल बिकलाई नियन्त्रणमा लिएर घटना बारेमा अनुसन्धान गरिरहेको बताएका छन्।