प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मनसुनजन्य विपद्: एक महिनामा ३१ को मृत्यु, २६ करोडको क्षति

२०८२ असार १७, मंगलबार २०:०१ बजे

काठमाडौँ । हालैको एक महिनामा देशभर मनसुनजन्य विपद्का घटनाहरूले ठूलो जनधनको क्षति पुर्‍याएका छन्।

जेठ १५ गतेदेखि असार १६ गतेसम्मको अवधिमा विभिन्न ६७४ वटा विपद्का घटना घटेका छन्, जसमा ३१ जनाले ज्यान गुमाएका छन् भने ११२ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा मात्र ८७ वटा पहिरोका घटना भएका छन्। ती घटनामा ११ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २५ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। पहिरोबाट करिब रु २ करोड २१ लाख बराबरको क्षति भएको बताइएको छ। साथै, पहिरोले एउटा पुल, सातवटा गोठ र १४ वटा चौपाया समेत बगाएको छ।

यसैबीच, बाढीका ६४ घटनाले पनि जनजीवन प्रभावित बनाएको छ। बाढीका कारण चार जनाको ज्यान गएको र चारै जना घाइते भएको जनाइएको छ। १२३ परिवार प्रत्यक्ष प्रभावित भएका छन् भने चारवटा घरमा क्षति पुगेको छ।

त्यसैगरी, चट्याङका ८२ घटनामा आठ जनाको मृत्यु भएको र २० जना घाइते भएका छन्। हुरीका ४५ घटनाले पनि असर पुर्‍याएका छन्, जसमा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

समग्रमा, पछिल्लो एक महिनामा मनसुनजन्य विपद्का कारण देशभर गरी करिब रु २६ करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।

–रासस