प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

योगदानको जनचेतना अभियान: सवारी साधनमा उपचार बक्स अनिवार्य

२०८१ जेठ २९, मंगलबार २१:०३ बजे

हेटौंडा – भनिन्छ, दुर्घटना कहिल्यै पनि पूर्व सूचना दिएर आउँदैन। यसैले दुर्घटना भइसकेपछि बच्ने उपाय खोज्नुभन्दा दुर्घटना नहुनुअघि नै सावधान रहनु महत्वपूर्ण हुन्छ। तर, कुनै पनि अवस्थामा दुर्घटना घट्न सक्छ - जहाँ पनि, जतिबेला पनि र जसरी पनि।

यस्ता संभावित दुर्घटनाहरूबाट हुने क्षतिबाट बच्नका लागि प्राथमिक उपचारको आवश्यकता पर्छ।

प्राथमिक उपचार भनेको घाइतेको प्रारम्भिक उपचार हो, जसले ठूलो जोखिम घटाउँछ। यसैलाई मध्यनजर गर्दै, 'योगदान राष्ट्रको लागि मकवानपुरले मकवानपुरमा सबै सवारी साधनहरूमा प्राथमिक उपचार बक्स अनिवार्य गर्न आग्रह गर्दै जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।

योगदान राष्ट्रको लागि मकवानपुरका अध्यक्ष मिलन सेडाइको सभाध्यक्षतामा हेटौंडाको बुद्धचोकमा प्राथमिक उपचार सम्बन्धि र दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक अभियान चलाइ अभियान सुरु गरेको हो । अभियानमा करिब १ सय ५० जना भन्दाबढीको उपस्थिती रहेको थियो ।

अभियानमा केन्द्रीय सदस्य अभिषेक उप्रेतीले विद्युत् करेन्ट लागेमा, आगलागी भएमा, घाउचोट लागेमा, बेहोस भएमा वा हृदयघात भएमा के गर्नुपर्छ भन्ने बारेमा जानकारी दिए । केन्द्रीय सदस्य रूपक कालिराजले प्राथमिक उपचारको आवश्यकता र महत्वका बारेमा चर्चा गरे । उनले घरमा सामान खसेर चोट लागेमा, भर्याङमा लड्दा, कुकुरले टोक्दा वा सर्पले डस्दा प्राथमिक उपचारको खाँचो पर्छ भन्ने बारेमा बताए।

अभियान कै क्रममा हेटौडा, भैंसे हुँदै काठमाडौँ जाने सवारी साधनहरूमा प्राथमिक उपचार सम्बन्धी किड ब्याक छ छैन भने जाँच गरी चालकहरूलाई प्राथमिक उपचार बक्सको बारेमा जानकारी दिइएको थियो। साथै, उनीहरूलाई नमुना स्वरूप प्राथमिक उपचार बक्सहरू समेत वितरण गरिएको थियो।

सो अभियानमा योगदान राष्ट्रको लागिका केन्द्रीय सदस्य रूपक कालिराजले सो अभियानलाई अहिलेसम्मकै फरक र भिन्न कार्यक्रम भएको बताए। उनले भने, "कहिलेकाहीँ घरमा सामानहरू झरेर चोट लाग्न सक्छ, कहिलेकाहीँ हामी भर्याङमा चिप्लन सक्छौं, कुकुरले टोक्न सक्छ वा सर्पले डस्न सक्छ। यस्ता अप्ठ्यारा अवस्थाहरूबाट बच्नका लागि प्राथमिक उपचारको आवश्यकता पर्छ। त्यसैले घरमा प्राथमिक उपचार बक्स राख्नैपर्छ।" उनले सबैलाई यो अभियानलाई साथ दिन अनुरोध गरे । चालकहरूलाई पनि आफू र अरूलाई सुरक्षित राख्न प्राथमिक उपचार बक्स राख्न आग्रह गरे ।

कार्यक्रममा योगदान राष्ट्रको लागिका मकवानपुर अध्यक्ष मिलन सेडाई, केन्द्रीय सदस्य अभिषेक उप्रेती र रूपक कालिराज लगायतको उपस्थितिमा ट्राफिक प्रहरी कार्यालयबाट चेकजाँचमा खटिनु भएका ट्राफिक प्रहरीलाई समेत प्राथमिकता उपचार बक्स बितरण गरिएको संस्थाका उपाध्यक्ष बिजय बजगाइले बताए ।

करिब ५० वटा सवारी साधनहरूमा प्राथमिक उपचार सम्बन्धी बक्स जाँच गर्दा कुनै पनि सवारीमा नभेटेको र आउँदा दिनमा राख्नका लागि आग्रह समेत गरिएको थियो ।

यस अभियान अर्थात् सचेतना अभियान आफैमा सकारात्मक भएको र प्राथमिक उपचार सम्बन्धी बक्स राख्नुपर्ने र आउँदा दिनमा राख्ने चालकहरूले प्रतिबद्धता समेत जनाएको संस्थाका सचिव मनिष अधिकारीले जानकारी दिए ।

योगदान राष्ट्रको लागिको स्थापना भएको दिवसको उपलक्ष्यमा आयोजित सचेतनामूलक अभियान जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा अभियान सुरु गरेको हो ।


फस्र्ट एड किट कसरी बनाउने ?
बजारमा सजिलै खरीद गर्न सकिने यस्ता किटमा आवश्यक पर्ने सामानहरु राखेर घरमै पनि तयार पार्न सकिन्छ । घरमा तयार पारिएको यस्ता किटलाई परिवारका कुनै पनि सदस्यले सजिलै फेला पर्ने ठाउँमा राख्नुपर्छ । र, आवश्यक परेको बेला सजिलै खोल्न तथा प्रयोग गर्न सकिने गरी सबैले देख्ने ठाउँमा हुनुपर्छ ।

के के राख्ने ?
आकस्मिक अवस्थामा प्रयोग गरिने यस्ता किटमा यस्ता सामाग्री राखिनु पर्छ जसमा उक्त सामाग्री कुन समस्यामा कसरी प्रयोग गर्ने र यसको प्रयोगले कसरी समस्या कम गर्न सकिन्छ भनेर स्पष्ट उल्लेख गरिएको होस् ।

त्यसैले, उक्त किटमा मर्केको ठाउँमा पट्टी (यान्डेज) भए, नभएको सुनिश्चित गन जरुरी छ । फस्र्ट एड सम्बन्धि कक्षा लिएको खण्डमा खुट्टा मर्किदा सही तरीकाले पट्टी गर्न सकिन्छ । त्यस्तै, घाउ छोप्न गज वा कपास भए, नभएको तथा उक्त कपास तथा पट्टीलाई छालामा टाँस्नका लागि मेडिकल टेप भए, नभएको सुनिश्चित गर्न जरुरी छ । फस्ड ऐड किटमा सामान्य चोटपटकमा प्रयोग गरिने सामान्य टेप ‘व्याण्डएड’ पनि राख्न जरुरी छ । जसको प्रयोगले सानोतिनो घाउ हुदाँ रगत बग्न दिँदैन ।

त्यस्तै, खुला घाउलाई सफा गर्न रविङ्ग अल्कोहल, घाउ सफा गर्ने क्रममा संक्रमण नहोस् भन्नका लागि ह्याण्ड स्यानिटाईजर तथा हात काटेमा वा पाछिएमा संक्रमण नहोस् भन्नका लागि एन्टीबायोटिक कि्रम राख्न पनि जरुरी छ ।

हुन त फस्र्ट एड किटमा अन्य धेरै कुरा समावेश गर्न सकिन्छ, त्यो व्यक्ति र आकस्मिक अवस्थामा भर पर्छ ।

फस्ट ऐड किटको प्रयोगले सबै उमेर समूहका मानिसलाई दुर्घटनाबाट बचाउन सकिने हुदाँ यसलाई हरेक घरमा राख्न जरुरी छ । दुर्घटना जहिले पनि हुनसक्छ ।

त्यसैले, यस्ता किटलाई सपरिवारको पहुँचमा हुने गरी राखिएको खण्डमा जस्तोसुकै ठूलो दुर्घटनाबाट पनि परिवारका सदस्यालाई बचाउन सकिन्छ । यसले घाउ कम गर्न मद्दत गर्ने मात्र नभई सामान्य चोटपटकलाई गम्भीर हुनबाट समेत बचाउँछ ।

त्यसैले, आकस्मिक अवस्थामा प्रयोग गरिने यस्ता किट घरमा जगेडा हुन निकै आवश्यक छ ता की सामान्य चोटपटकमा समेत यसको प्रयोगद्वारा उक्त चोटपटकलाई गम्भीर हुनबाट सजिलै बचाउन सकियोस् ।

यस्ता किटलाई हावा नपस्ने चिसो तथा खुला ठाउँमा राखिनुु पर्छ । साथै बालबालिकाको पहुँचबाट टाढा राखिनु पर्छ । सम्भवतः इन्फोग्राफिक्समा पनि प्रयोग गर्न सकिन्छ ।

फस्र्ट एड किटको प्रयोग ?

-किटाणुको संक्रमणबाट बचाउन
-काटेको तथा चोटपटकका कारण हुनसक्ने संक्रमणको क्षति न्यून गर्न सकिने
-भाचिएको -हात, पाखुरा,खुट्टा, प्लास्टरमा राखेर धरै क्षति एंव दुखाई न्यून गर्न सकिने
-धेरै रगत खेरजानबाट तत्का खोक्न सकिने

फस्ट एड किटमा राखिने औषधीको सुची ?
-१) सफाइ गर्ने औषधि- घाउ, चोटपटक लाग्दा सर्वप्रथम त्यसलाई सफा गर्न सेवलान, डिटोल बिटाडिन, पोभिडोन आयोडिन वा सोफ्रामाइसिन सोलुसनजस्ता औषधि राख्नु पर्छ ।
२) दुखाइ कम गर्ने औषधि- प्यारासिटामोल, आइबोप्रोफिन, डाइक्लोफिनाक, नेप्रोसेन, टाम्राडोल, मेफताल स्पास ।
३) दुखाइ कम गर्ने मलम- आयोडेक्स, भोलिनी जेल, डीएफओ जेल, सैलिफ जेल, मूभ आदि ।
४) दुखाइ कम गर्ने स्प्रे- भोलिनी स्प्रे, डीएफओ स्प्रे, रेली स्प्रे, मुभ स्प्रे, ओम्नी जेल आदि ।
५) ज्वरो कम गर्ने औषधि- प्यारा सिटामोल, निको, क्रोसिन, सिटामोल आदि ।
६) एलर्जीको औषधि- सिटि्रजिन
७) बिटाडिन मलम
८) वान्ता रोक्ने दबाइ- डोमपेरिडान डोमाकेयर, एबोमिन इत्यादि ।
९) पखाला रोक्ने दबाइ- मेट्रोन डीएफ, रेसेस्यडोटि्रल, डोटि्रल ।
१०) ओआरएस- जीवनजल, नवजीवन आदि ।
११) एन्टिबायोटिक मलम- पोलिमाइसिन, म्युपिरोसिन ।
१२) क्रेप ब्यान्डेज
१३) स्टिराइल गजपिस ।
१४) थर्मामिटर, टर्च, अक्सिमिटर, रक्तचाप नाम्ने उपकरण ।
१५) ब्यान्डएड
१६) कैंची
१७) सुचरिङ निडल्स
१८) कटन रोल
१९) हाइड्रोजन पेरोक्साइड
२०) मेडिकल मास्क, पञ्जा र टोपी
२१) टिस्यु पेपर, प्रेट्रोलियम जेली ।
२२) प्रयोग पुस्तिका

कहाँ कहाँ प्रयोग गर्न सकिन्छ फस्ट एड किट बक्स
-घरमा
-पिकनिक
-हाइकिङ्ग
-घुमघाम
-पारिवारिक घुमघाम
-विकेन्ड आउटिङ्ग
-खेलकुद