प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेश खेलकुद: महिला क्रिकेटमा काठमाडौंलाई स्वर्ण, पुरुष क्रिकेट आजदेखि

२०८० जेठ ९, मंगलबार ०२:४७ बजे

हेटौंडा – दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा काठमाडौले स्वर्ण उपाधि जितेको छ । चितवनस्थित गौतमबुद्ध क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौंले चितवनलाई ५७ रनले पराजित गर्दै स्वर्ण जितेको हो ।

पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा ५ विकेट गुमाएर १२४ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याएको चितवन १५.१ ओभरमा ६७ रन जोड्दै अलआउट भएपछि काठमाडौंले स्वर्ण जित्यो ।

चितवनका लागि आरती बिडारीले २८ रनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । काठमाडौंका बलर बिपिशा शाही र संस्कृति फुँयालले ३(३ विकेट, यशोदा विष्टले दुई विकेट लिइन् ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंका लागि यसोदा विष्टले सर्वाधिक ४३ रन बनाइन् । बृन्दा कटवालले नटआउट ४० रनको योगदान गर्दा संस्कृति प्याकुरेले ८ रन जोडेकी थिइन् । चितवनका लागि हेलिषा गुरुङले २ विकेट, सुमन खतिवडाले १ विकेट हात पारिन् ।

काठमाडौंकी यशोदा विष्ट प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन् । चितवनकी सुमन खतिवडा उत्कृष्ट ब्याटर र काठमाडौंकी संस्कृति फुँयाल उत्कृष्ट बलर घोषित भए ।

पुरुष क्रिकेट आज मंगलबारदेखि चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमै सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत क्रिकेटमा रसुवा र सिन्धुली बाहेक ११ जिल्लाको सहभागिता रहेको छ ।