हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित डाइभरडाँडामा आज दिउँसो सवारी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग खण्डमा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख २९७० नम्बरको यात्रुबाहक बसको ब्रेक फेल भई दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालका अनुसार ब्रेक फेल भएको बसले विपरित दिशाबाट आउँदै गरेको अनटेष्ट कारमा ठक्कर दिएको थियो । त्यसपछि अगाडि गइरहेको ना ८ ख ४४० नम्बरको ट्याङ्करलाई समेत पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरी टोलीले बसमा सवार ४ जना र कारमा सवार ६ जना घाइतेलाई उद्दार गरी हेटौंडा अस्पताल पठाएको छ । घाइतेमध्ये ६ जनाको अवस्था मध्यम र ४ जनाको अवस्था सामान्य रहेको अस्पताल प्रहरीले जनाएको छ ।
बस कारलाई ठक्कर दिएपछि करिब १०० मिटर पर गएर एक सय मिटर अगाडी रहेको रुखमा ठोक्किएर रोकिएको थियो । ट्याङ्करको पछाडि भागमा सामान्य क्षति भएको जनाइएको छ। दुर्घटना स्थल प्रहरी चौकी रातोमाटेबाट करिब १ किलोमिटर दक्षिणमा पर्ने बताइएको छ । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ ।