प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बजेटप्रति हेटौंडाका वडाअध्यक्षहरुको असन्तुष्टि, मुख्यमन्त्री र मन्त्रीहरुलाई कालो झण्डा देखाउने घोषणा

२०८० असार २, शनिबार १०:३५ बजे

हेटौंडा – बागमती प्रदेश सरकारले शुक्रबार सार्वजनिक गरेको बजेटप्रति हेटौँडा उपमहानगरपालिकाका वडा अध्यक्षहरुले आपत्ति जनाएका छन् ।

प्रदेशको राजधानी भएको उपमहानगरकै वडाहरुलाई उपेक्षा गरेर बजेटमा कुनै पनि कार्यक्रम नसमेटिएको भन्दै उनीहरुले शनिबार पत्रकार सम्मेलन नै गरेर आपत्ति जनाएका छन् । हेटौंडा उपमहानगरकालिकाको बजेट सार्वजनिक कार्यक्रम पश्चात पत्रकार सम्मेलन गर्दै वडाध्यक्षहरुले प्रदेश सरकारले राजधानी हेटौंडाको विकास निर्माणको लागि कुनै बजेट विनियोजन नगरेको भन्दै घोर आपत्ती जनाए । वडाध्यक्षहरुले हेटौंडामा हुने सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री र मन्त्रीहरु सहभागि भए उनीहरुलाई कालो झण्डा देखाउँदै बहिष्कार गर्ने चेतावनी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा–१४ का वडाध्यक्ष दीपक खड्काले राजधानीको विकासका लागि बजेट विनियोजन नगरेको भन्दै आफूहरुले प्रदेशका मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा कालो झण्डा देखाउने र बहिष्कार गर्ने तयारीका साथ अघि बढ्ने तयारीमा रहेको बताए । उनले प्रदेश सरकारको बजेट पूर्वाग्राही ढंगले आएको भन्दै बजेट नसच्याए कडा रुपमा प्रस्तुत हुन बाध्य हुने समेत उल्लेख गरे ।

पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामाले प्रदेशको राजधानी हेटौंडा भएको र त्यसमा पनि १० नम्बर वडामा प्रदेशका मन्त्रालयहरु देखि प्रदेश सभा भवन लगाएत धेरै सरकारी भवनहरु भएको तर यहाँकै पूर्वाधार विकास निर्माणमा बजेट शून्य पार्नुले राजधानीलाई पछि पार्न खोजेको टिप्पणी गरे । उनले प्रदेशको राजधानी हेटौंडालाई नियोजित ढंगले बजेट नहाल्नुले राजधानी सार्न खाजेको भान भएको बताए ।

यसैगरी, हेटौंडा–१९ को वडाध्यक्ष नरनाथ सुवेदीले प्रदेश सरकारको बजेट पूवाग्राही ढंगले आएको बताउँदै बजेट संशोधन हुनुपर्ने बताए । उनले प्रदेशको बजेट पूवार्धार, रोजगारसँग नजोडिएको टिप्पणी गरे । उनले प्रदेश सरकारले आफ्नो दलका कार्यकर्ता पाल्ने ढंगले मात्रै बजेट ल्याएको दाबी गर्दै प्रदेश सरकारले बजेट सच्याउनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा–५ का वडाध्यक्ष शुशिल घिमिरे, हेटौंडा–११ की वडाध्यक्ष जुना दाहाल, हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानले प्रदेशको बजेट हचुवाका भरमा पहुँचवालाले पाउने गरी बनेको बताउँदै बजेट संशोधन हुनुपर्नेमा जोड दिए । हेटौंडाको विकासलाई पछि पार्न खोजिए कडा रुपमा प्रस्तुत हुने उनीहरुको भनाइ छ । पत्रकार सम्मेलनमा एमालेबाट निर्वाचित वडा अध्यक्षहरु मात्रै सहभागी थिए ।