दैलेख – पत्नी हत्याका कसुरदारलाई दैलेख जिल्ला अदालतले जन्मकैद फैसला गरेको छ । गुराँस गाउँपालिका–१, खड्कवाडाका २४ वर्षीय प्रेमबहादुर विकलाई आइतबार जन्मकैद फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए । घरायसी सम्बन्ध बिग्रिएपछि डुङ्गेश्वर गाउँपालिका–६,लटालीस्थित माइतीमा बस्दैआएकी २१ वर्षीया सुनिता विकलाई गोठाला गएको मौका पारी २०७७ कात्तिक १७ गते दिउँसो बाँधे जङ्गलमा हत्या गरेको कसुरमा प्रहरीले मुद्दा चलाएको थियो ।
जिल्ला अदालत दैलेखका न्यायाधीश बलराम लम्सालको एकल इजलासले नियतवश ज्यान मारेका कारण मुलुकी अपराध संहिताको दफा १७७ को उपदफा २ बमोजिम जन्मकैद अर्थात् २५ वर्ष कैद हुने र वैवाहिक बलात्कार ठहर गर्दै सोही ऐनको दफा २१९ अनुसार थप तीन वर्ष कैद हुने ठहर्छ भनी फैसलामा उल्लेख छ ।
प्रहरी र अदालती बयानमा इन्कार गरेपनि प्रहरी अनुसन्धान, घटना भएको दिन देखिएको साक्षीको भनाई र त्यही दिन तल्लो डुङ्गेश्वरबाट जिपमा कालीकोट पुग्नुलाई अदालतले सुनिताको हत्या प्रेमबहादुर विकले नै गरेको आधार मानेको छ । २०७६ फागुनमा विवाह गरेका सुनिता र प्रेमबहादुरबीच तीन महिनामा सम्बन्ध बिग्रिएपछि माइतीमा बस्दै आएका बेला श्रीमान्ले गर्ने व्यवहार, उत्तेजक टेलिफोन संवादलगायतका घटनाक्रमलाई जनाउँदै सुनिताका माइती पक्षले प्रेमबहादुर विकमाथि नै शङ्का रहेको भन्दै हत्या आरोपमा २०७७ कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।