काठमाडौं – नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियामाथि जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपालले नामिबियालाई तीन विकेटले हराएको हो।
घरेलु मैदानमा जारी सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो । नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लले कीर्तिमानी साझेदारी गरे । कुशल मल्ल,आसिफ शेख तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे ।
आसिफले ९८ बलमा आठ चौका र दुई छक्का सहित सर्वाधिक ८१ रन बनाए । ज्ञानेन्द्रले ७४ बलमा पाँच चौका र तीन छक्कासहित ६५ रन बनाए । उनीहरुले दोस्रो विकेटका लागि एक सय ३९ रनको कीर्तिमानी साझेदारी गरे ।
यो नेपालबाट एकदिवसीयमा उच्च साझेदारी हो । यसअघि कुशल भुर्तेल र रोहित पौडेलको नाममा एक सय ३३ रनको शतकीय साझेदारी थियो । उनिहरुले पनि नामिबियाविरुद्ध नै उक्त शतकीय साझेदारी गरेका थ्ृिाए ।
यस्तै कुशल मल्लले ४९ बलमा ६ चौका र चार छक्का सहित ६२ रनको अर्धशतकीय पारी खेले । कप्तान रोहित पौडेलले ३९ रन बनाए ।बलिङमा नामिबियाका रुबेल ट्रुम्पलम्यानले तीन विकेट लिए । बर्नाल्ड स्कर्टजले दुई तथा टाङ्गेनी लुङ्मेनी र पीक्की या फ्रान्सले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा दुई सय ७४ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले ७५ रन, पीक्की या फ्रान्सले ४९, लोहार्ड लौरेन्सले ४१, रुबेल ट्रुम्पलम्यानले २४, माइकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले १५र१५ रन जोडेका थिए ।
बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए। यससँगै विश्वकप लिग–२ मा सन्दीपले व्यक्तिगत ५० विकेट पूरा भएको छ । करण केसीले एक विकेट लिए ।
यसअघि पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेट र शुक्रबार स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो । नेपालले अब अन्तिम खेलमा मंगलबार स्कटल्याण्डसँग खेल्नेछ ।
सिरिजमा नेपाल २७ खेलबाट २४ अङ्क जोड्दै छैटौँ स्थानमा छ । ३३ खेलबाट ३७ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ । सिरिज च्याम्पियन बनिसकेको स्कटल्यान्डले ३४ खेलबाट ४८ अङ्क बनाएको छ । शीर्ष तीनमा रहने टोलीले विश्वकपमा स्थान बनाउने छन् ।