काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु भएका एन्फा एकेडेमीका ६ खेलाडीका परिवारलाई प्रतिपरिवार आठ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । एन्फाको आइतबार बसेको आपतकालीन बैठकले यो निर्णय गरेको हो ।
असोज १२ गते अविरल बर्षासंगै आएको पहिरोमा परी सिस्नेरीस्थित वात्सल्यदेवी एकेडेमीमा फुटबल सिक्दै आएका आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवश बानियाँ, अनुपम घलान र साइमन योञ्जनको पहिरोमा परेर निधन भएको थियो ।
एन्फा बैठकले प्रत्येक बालकको नाममा परिवारले चाहेको ठाउँ र क्षेत्रमा दुई लाख रुपियाँको अक्षयकोष स्थापना गर्ने, एन्फाले सञ्चालन गर्ने छात्र स्कुल प्रतियोगितालाई ६ खेलाडीको स्मृतिमा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै घटनास्थलमा मृत्यु भएका ६ जना खेलाडीको शालिक निर्माण गर्ने, थप राहतको लागि फिफा र एफसीसंग पनि अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै एन्फाले बालकहरुको मृत्युको घटना छानविन गर्न केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा एन्फा सदस्य टीकाराम लामा र सहायक महासचिव दामोदर भट्टराई रहेका छन् ।

