प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भारतसँग नेपालको फराकिलो हार, फाइनल पुग्ने सम्भावना कति ?

२०७९ श्रावण १५, आईतबार १६:१० बजे

काठमाडौं – साफ यू–२० च्याम्पियन्सिपको समूह चरणको तेस्रो खेलमा साविक विजेता नेपालले भारतसंग लज्जास्पद हार व्यहोरेको छ ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा नेपाल भारतसँग ८–० गोलको लज्जास्पद हार व्यहोरेको हो । साफको उमेर समूह प्रतियोगितामा नेपालले भोगेको यो सबैभन्दा फराकिलो हार‌ हो ।

पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक चलेको खेलमा भारतले दोस्रो हाफ गोल वर्षा गर्यो । भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोई र टाइसन सिंहले दुई/दुई गोल गरे । यस्तै हिमान्सु जान्ग्रा, टन्कधर बाग, गुर्किरात सिंह र सुभो पाउलले एक एक गोल गरे ।

यस हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ भने भारत दोस्रो स्थानमा उक्लिएको छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमै रहेको छ । १–१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् ‌‌।

अब नेपालले प्रतियोगिताको फाइनल प्रवेश गर्ने सम्भावना रहेपनि निकै गठिन छ। नेपालले बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरे फाइनलमा स्थान पाउनेछ। बंगलादेशसँग बराबरी भएको खण्डमा भने भारत माल्दिभ्ससँग पराजित भए नेपाललाई पुग्छ । माल्दिभ्स र भारत बराबर भए नेपालले बंगलादेशलाई १ गोलले हराए पनि पुग्नेछ ।

अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग तथा भारतले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । ५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।फाइनल खेल शुक्रबार हुनेछ ।