हेटौंडा – सशस्त्र प्रहरी बल(एपीएफ)हेटौंडामा जारी छैठौं ‘स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा बिहीबार भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा एपीएफले वागमती युथ क्लब सर्लाहीमाथि ४–० गोलअन्तरको फराकिलो जित निकालेको हो ।
एपीएफलाई फाइनलमा पुर्याउनका लागि अनिश महर्जन, प्रदीप लामा, सर्ज संग र फोडे फोफनाले १–१ गोल गरे । खेलको ४४ औँ मिनेटमा अनिश महर्जनले पहिलो गोल गर्दै एपिएफलाई अग्रता दिलाए ।
खेलको ६० औं मिनेटमा प्रदीप लामाले अग्रता दोब्बर बनाए । सर्ज संगले ८१ औं मिनेटमा वान भर्सेस वान बललाई बागमती पोष्टको जाली चुमाए ।
फोफनाले निधारित समयको अन्तिम मिनेटमा गोल गरेपछि एपिफएले बागमतीमाथि ४–० को शानदार जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल बन्यो ।
खेलको म्यानअफ दी म्याच अनिश महर्जन घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उपाधिका लागि एपिएफले न्यूरोड टीम (एनआरटी)को सामना गर्नेछ ।यी दुई टोली पहिलो पटक मकवानपुर गोल्डकपको फाइनलमा पुगेको हो ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एनआरटी धनकुटाको राजारानी क्लबलाई सडनडेथमा १७–१६ गोलअन्तरको जीत निकाल्दै फाइनलमा प्रवेश गरेको थियो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको फाइनल शनिबार हुनेछ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद १५ र १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउने छन् ।