हेटौँडा – मकवानपुरको हेटौँडास्थित भुटनदेवी चौरमा आज मंसिर २२ गते विहिबार ‘नेपथ्य लाइभ कन्सर्ट’ हुँदैछ । युवापुस्ता माझ लोकप्रिय नेपथ्य ब्याण्डको सर्वाधिक प्रिय सहरमध्ये एक हेटौंडा पनि हो ।
नेपथ्यले सर्वाधिक कन्सर्ट गरिएका सहरमध्ये हेटौंडा पनि पर्छ । नेपथ्यले यसअघि दुईपटक ‘सुन्दर, शान्त, नेपाल’ र चारपटक ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत मकवानपुरेलीलाई संगीतमा झुमाएको थियो ।
नेपथ्यले करिब १० बर्षपछि पुनः मकवानपुरबासीलाई भुटनदेवि मैदानमा नचाउन लागेका हुन् । यसअघि नेपथ्यले ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत सन् २०१२ मा हेटौंडामा अन्तिम प्रस्तुती दिएको थियो । यो सातौपटक हो ।
सातौं पटक हेटौंडावासीलाई संगीतमा झुमाउन नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङसहितको टोली मंगलबारनै हेटौंडा आइसकेका छन् । गायक गुरुङसहितको टिमलाई मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले स्वागत गरेका थिए ।
1670473393.jpg)
स्थानीयले नेपथ्यको ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना’ बोलको गीत गाउँदै गायक गुरुङलाई स्वागत तथा सम्मान समेत गरेका थिए । विराटनगर र वीरगञ्जको कार्यक्रम सकेर नेपथ्यको टोली हेटौँडा आइपुगेको हो । नेपथ्यले कन्सर्टका लागि चाहिने उच्चस्तरका प्रविधि सबै काठमाडौँबाट ल्याएको आश्रमले जनाएको छ ।
हेटौंडाको भुटनदेवी प्राङ्णमा नेपथ्य ब्याण्डको लाइभ कन्सर्ट आज साँझ ४ बजेबाट सुरु हुनेछ । ब्याण्डका गायक गुरुङसहित टोलीले लोक/पप गीतहरु प्रस्तुत दिनेछन् । नेपथ्य ब्याण्डको ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’, ‘चरि मर्यो’, ‘जोमसोमे बजारमा’, ‘शिरफूल’ लगायत दुई दर्जन गीत दर्शक माझ लोकप्रिय छन् ।
आश्रमका अनुसार कन्सर्टको आन्तरिक तयारी पुरा भएको छ । फिल्ड र स्टेजको काम अन्तिम चरणमा पुगेको बताईएको छ । कार्यक्रमको तयारी तिब्र भएको र टिकट विक्री करिब सकिएको मानवसेवा आश्रम हेटौँडाले जनाएको छ । आश्रममा कन्र्सटमा पाँच हजारभन्दा बढी दर्शक हुने आयोजकको अनुमान छ ।
आश्रमको बाँकी भवन निर्माण तथा आश्रित बेसहाराहरुको संरक्षण र पालन पोषणको सहयोगार्थ एक महिने देशब्यापी सांगीतिक यात्राको आयोजना गरिएको हो । मानवता प्रवद्र्धनका लागि मुलुकका प्रमुख १० शहरमा गर्न लागेको कन्सर्ट अन्तरगत मकवानपुरको यो कार्यक्रम तेस्रो हो । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा भएको थियो ।
आश्रमको मुख्य कार्यालयमा हाल मुख्य भवन र लक्ष्मी भवन (स्व. राज्य थापा स्मृति भवन) को निर्माण कार्य सम्पन्न भए पनि बालवालिका आवास, बागबगैँचा, गाईगोठलगायतका कार्यहरु निर्माणको चरणमा नै छन् । हाल मुख्य कार्यालयमा १८ बालक, ३ बालिका, ९४ पुरुष र ७७ जना महिला गरी १९२ व्यक्तिहरु आश्रित छन् ।
कन्सर्ट यही मंसिर २५ गते भरतपुरको क्याम्पाचौरमा, २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ ।
अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । कन्सर्टमा सहभागि हुन मानवसेवा आश्रमको मुख्य कार्यालयका साथै अनलाइन्बाट पनि टिकट लिन सकिन्छ । टिकट शुल्क रु एक हजार रहेको छ ।