हेटौंडा – ललितपुरको लितपुर महानगरपालिका–१५ हात्तीवन पुल नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा मकवानपुरका एक युवक सहित दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरको बकैया गाउँपालिका– ५ का अन्दाजी ३२ बर्षीय मानबहादुर वाइबा र काभ्रे बेथानचोक गाउँपालिका घर भई ललितपुरको ठैब बस्ने २९ वर्षीय जिवन तामाङ रहेका छन् ।
प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीका अनुसार गोदावरीबाट लगनखेल जाँदै गरेको बा ३ ख ४१०८ नम्बरको बसले विपरीत दिशाबाट हरिसिद्धी जाँदै गरेको बा ५६ प ३४५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा उनीहरु गम्भीर घाइते भएका थिए । उनीहरुको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी जोशीले बताए ।
वाइबा मकवानपुरका स्थानीय फुटबल खेलाडी समेत हुन् । उनी जिल्लामा हुने प्रतियोगिताहरुमा स्थानीय क्बलहरुबाट फुटबल खेल्थे । उनी बकैया गाउँपालिकाको नियमित फुटबल खेलाडी समेत थिए । ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।