प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा मान्छे मार्ने बाघ खोज्न जाँदा शव फेला, कम्मर माथीको भाग हड्डी मात्रै

२०८० मंसिर ११, सोमबार ०६:५४ बजे

हेटौंडा – मकवानपुरमा मान्छे मार्ने बाघ नियन्त्रणमा लिन जाने क्रममा एक शव फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका नेपाली सेना र निकुञ्जकै सुनाचुरी रेन्ज पोष्टबाट बाघ खोज्न खटिएको टोलीले एक पुरुष शव फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार शवको कम्मरको भाग भन्दा मुनिको रहेको छ भने कम्मर भन्दा माथीको भाग हड्डी मात्रै रहेको छ ।  शवको अहिलेसम्म पहिचान भएको छैन ।

मनहरी गाउँपालिका वडा नं.६ मा गत शुक्रबार बिहान चितवन राष्ट्रिय निकुञ्जबाट आएको बाघले राप्ती नगरपालिका बस्ने ४३ बर्षीय हरी पौडेलको ज्यान लिएको थियो । उक्त बाघ नियन्त्रणमा लिन निकुञ्जको टोली ४ वटा हात्ती लिएर मध्यवर्ती क्षेत्रमा प्रवेश गरेको थियो ।

खोज्न जाने क्रममा आइतबार अपह्रान्न ५ बजेको समयमा पुरुष शव फेला परेको हो । ती पुरुष जंगली जनावरको आक्रमणमा परेको हुन सक्ने प्रहरीको अनुमान छ । 

शव घटनास्थलबाट कानुनी प्रक्रिया पुरा गरी हेटौंडा अस्पतालमा ल्याईएको प्रवक्ता भण्डारीले बताए । उनले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए ।