म्यादी प्रहरीमा आवेदन दिन हेटौंडाको राप्तीरोड नजिकै एक फोटो स्टुडियोमा फोटो खिच्ने र कागजपत्र फोेटो कपि गर्नेहरुको भिड ।
हेटौंडा – सरकारले स्थानीय चुनावको घोषणा गरेसँगै म्यादी प्रहरीमा भर्ना हुन युवाको आकर्षण बढेको छ । छोटो अवधिका लागि मागिएको म्यादी प्रहरी बन्नका लागि मकवानपुरमा पनि युवाको भिड लाग्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बिहाननै देखि म्यादी प्रहरीमा आवेदन दिन लाइनमा बस्नेहरूको भिड हुन्छ । शैक्षिक प्रमाणपत्र भए पनि रोजगारीको उचीत व्यवस्था नभएका कारण ४० दिनका लागि म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिने अधिकांश युवाहरु रहेका छन् । उनिहरु विहानै देखि हेटौंडा उपमहानगरपालिका वडा नं.१० स्थित जिल्ला प्रहरी कार्यालयको अगाडी लाइन लागेर बसिरहेको हुन्छन् ।
स्थानीय निर्वाचनका लागि मकवानपुरमा १ हजार ३ सय २२ जनासंख्या माग भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
म्यादी प्रहरीका लागि यही चैत ६ गते आइतबार देखि आवेदन खुल्ला गरिएको थियो । आवेदन खुल्ला भएको तीन दिनमा ५ सय २० जनाले आवेदन फारम भरेको प्रवक्ता रिमालले बताए । उनका अनुसार आवेदन दिनेमा १५८ महिला र ३६२ जना पुरुष रहेका छन् । आवेदन दिने म्याद यही चैत ११ गते शुक्रबारसम्म रहेको उनले बताए ।