हेटौंडा – नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेद्वार बन्नेहरुको लर्को जारी छ । उम्मेद्वार छनौटको नगर कमिटी विभिन्न चरणको बैठक सकिदा पनि मेयर र उपमेयरको उम्मेद्वार बन्नेहरुको लर्को जारी रहेको हो ।
हेटौंडा उपमहानगरपालिका कमिटी बैठकले हेटौंडाको मेयरमा बर्तमान मेयर हरि बहादुर महत, संबिधान सभाका सदस्य अनन्त पौडेल र एमाले मकवानपुरका पुराना नेत्री गणेश कुमारी प्रधानलाई सिफारिस निर्णय गरेको छ । त्यस्तै उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्र प्रसाद नेपालको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
यसअघिको बैठकमा मयेरमा ९ जना र उमेयरमा काफ्ले र पाठकसहित ७ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । मेयरमा महत र पौडेल सहित एमाले केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर राना, जिल्ला कमिटी मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिल्ला सचिवालय सदस्यहरु मदन दाहाल, ध्रुव चौलागाईं, गणेशकुमारी प्रधान, संगठित सदस्य विके महर्जन सिफारिस गरेको थियो । त्यस्तै उपमेयरमा काफ्ले र पाठकसहित सीता बिष्ट, मेनुका दाहाल, प्रतिमा श्रेष्ठ, रमिला सापकोटा र इन्द्र नेपालको नाम सिफारिस गरेको थियो ।
२०७४ मा भएको स्थानीय चुनावमा हेटौंडा उपमहानगरमा एमालेका मेयर हरिबहादुर महत २३ हजार १२४ मतसहित विजयी भएका थिए । उनले गठबन्धनका उम्मेद्वार कांग्रेसका आनन्दराम पराजुलीलाई ६१५ मतको अन्तरले पराजित गरेका थिए । पराजुलीले २२ हजार ५०९ मत प्राप्त गरेका थिए ।
उपमेयरमा एमालेकी उम्मेद्वार मीनाकुमारी लामाले चुनाव जितेकी थिइन् । उनले गठबन्धनका उम्मेद्वार माओवादीका बलराम बललाई ६ हजार ४२६ मतले पराजित गरेकी थिइन् । लामाले २३ हजार ४३७ र बलले १७ हजार ११ मत ल्याएका थिए । एमाले विभाजनपछि मेयर महत एमालेमै छन् भने उपमेयर लामा नेकपा एकीकृत समाजवादीतर्फ छिन् । त्यस्तै हेटौंडा उपमहानगरको १९ वडामध्ये नेकपा एमाले १२, नेपाली कांग्रेस ५ र माओवादी केन्द्रले २ वडामा जितेको थियो ।