हेटौंडा – हिमालयन राइडर्स सोसाइटीले मेचीमहाकाली साइकलयात्रीलाई सम्मान गरेको छ । बिहीबार हेटौंडामा आयोजित एक कार्यक्रममा हेटौंडाका १ जना महिला सहित ११ जना साइकलयात्रीलाई सम्मान गरिएको हो । सोसाइटीले कदरपत्रद्वारा सम्मान गरेको हो ।
सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा भुटनदेबी मन्दिर संचालक समितिका अध्यक्ष राममान श्रेष्ठले साइकलयात्रीहरुलाई कदरपत्र प्रदान गरेका थिए । कार्यक्रममा सोसाइटीका उपाध्यक्ष राजु थापामगर, सचिव लेखनाथ ढकाल, संस्थापक अध्यक्ष चेतनाथ आचार्यले साइकलयात्राको अनुभूतिहरु सुनाएका थिए । १२ कक्षा उत्तीर्ण गर्नेबििित्तकै बिदेशिन तल्लीन रहेका युवापुस्तालाई स्वदेशमै अध्ययन र रोजगारीको सम्भावनाको खोजी गर्न ढिलाई नगरौं भन्ने बिषयमा पनि साइकलयात्रीले जनचेतना जगाउने प्रयास गरेका थिए ।
हेटौंडाका ११ जना र बुटवलका २ जना गरी १३ जनाले गत मंगलबार महाकाली नदीमा पुगेर एक हजार २८ किमिको साइकलयात्रा समापन गरेका थिए । हेटौंडाका २ जनाले दोस्रोपटक मेचीमहाकाली साइकलयात्रा सफलतापूर्वक सम्पन्न गरेका थिए । मेचीमहाकाली साइकलयात्रा गर्ने मकवानपुरको पहिलो महिला सीता श्रेष्ठसहित ११ जनालाई सम्मानीत गरिएको हो ।
स्वास्थ्य, पर्यावरण र पर्यटनका लागि साइकल भन्ने नाराका साथ मेचीमहाकाली अभियानमा सहभागी ६४ वर्षीय लक्ष्मीचरण श्रेष्ठ र ५० वर्षीय भानुभक्त आचार्यले दोस्रो पटक मेचीमहाकाली साइकलयात्रा गरेका हुन् । ठूलो समूहमा पहिलो पटक २५ वर्षअघि अर्थात भिजिट नेपाल १९९८ मा मकवानपुरका ११ जनाले मेचिमहाकाली साइकल यात्रा गरेका थिए । मकवानपुरेले यो दोस्रो पटक ठूलो संख्यामा मेचीमहाकाली साइकलयात्रा गरेका हुन् ।