प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हल्का वर्षा र हिमपातको सम्भावना

२०८१ पौष ८, सोमबार ०८:१० बजे

काठमाडौं – सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज बेलुकीपछि हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण पश्चिमी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने देखिएको छ।

मौसमविद्का अनुसार यो प्रणालीको प्रभाव बुधवार बिहानसम्म कायम रहनेछ। काठमाडौं र पोखरामा पनि आज छिटपुट वर्षा हुनसक्ने सम्भावना छ। मंसिर २३ र २४ गते भएको यो वर्षको पहिलो हिउँदे वर्षापछि फेरि अर्को प्रणाली शुक्रवारदेखि सक्रिय हुने अनुमान गरिएको छ। तर, यसपटक पनि वर्षा पश्चिमी क्षेत्रमा केन्द्रित रहनेछ।

कोशी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा एक-दुई ठाउँमा हिमपात हुने सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने धेरै ठाउँमा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

यसैबीच, आज बिहान तराई र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ। यस्ता अवस्थामा सावधानी अपनाउन तथा मौसम परिवर्तनको जानकारी लिएर यात्रा गर्न महाशाखाले आग्रह गरेको छ।