हेटौंडा – छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका २ गंगाचोकमा आज बिहान भारतिय नम्बरको कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका ७ का २७ बर्षीय हर्क परियार र पछाडी सवार सोही स्थानका २१ बर्षीय भिम बहादुर राई रहेको प्रहरीले जनाएको छ ।
को ३० प ९१०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई आज बिहान साढे ६ बजे, कन्टेनरले ठक्कर दिएको थियो । कन्टेनरको ठक्करबाट गम्भीर घाइते भएका दुवैको गंगाचोक स्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । कन्टेनर चालकलाई इलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।
त्यस्तै रुपन्देहीको मायादेवी गाउँपालिका ५ गुरबनियामा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका ४ का अन्दाजी ३६ बर्षीय तिलकराम शर्मा बढईको मृत्यु भएको हो । गएराती सवा ९ बजे, लु ३० प ११७२ नम्बरको मोटरसाइकल सडक डिभाइडरमा ठोकिएर पल्टिदा गम्भीर घाइते भएका चालकको बढईको उपचारको क्रममा भैरहवा स्थित भिम अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेथरी रुपन्देहीले जनाएको छ ।