प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

उडिरहेको प्लेनभित्रै यात्रुकाबीच कुटाकुट

२०७९ चैत्र २४, शुक्रबार ०३:२६ बजे

काठमाडौं – बुधबार साँझ विराटनगरबाट काठमाडौं उडेको बुद्ध एयरको उडान नं ७१० को जहाज कुटाकुट भयो ।

जहाज ७० यात्रु बोकेर विराटनगरबाट उडेको थियो । त्यहाँबाट करिब २४ किलोमिटर दूरी उडिसकेको भए पनि विमान स्थिर उचाइमा पुगेको भने थिएन । एकाएक मध्य भागमा बसिरहेका दुई यात्रुले कुटाकुट गर्न थाले ।

स्थिर उचाइमा जहाज पुगिसकेको नभएकाले सिट बेल्ट खोलेर क्याबिन क्रु र यात्रुलाई हिँडडुल गर्ने अनुमति थिएन । ती दुई यात्रुले कुटाकुट गरेको देखे लगत्तै परिचारिकाले चालक दललाई खबर गरिन् । छेउका यात्रुहरू उनीहरूलाई सम्झाउन थाले तर उनीहरूले मानेनन् ।

अन्ततः सिट बेल्ट नै खोलेर कुटाकुट गरेका उनीहरूको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै ती दुई यात्रुलाई जहाजमा खटिएका बुद्ध एयरका कर्मचारीले विमानस्थलका सुरक्षा अधिकारीको जिम्मा लगाए । प्रहरीले यसबारे छानविन गरिरहेको छ ।