काठमाडौं – राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । मुलुकका सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
उक्त निर्वाचनका लागि आयोगले यही पुस ४ गते नै मतदाता नामावली स्वीकृत गरेको थियो । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ ।
तीमध्ये प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ हुनेछ । उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने आयोगले जनाएको छ ।
अघिल्ला वर्षहरुमा जस्तै यस चुनावमा पनि विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्सङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।
माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल हरेक दुई वर्षमा सकिन्छ भने कार्यकाल छ वर्षको हुन्छ । अहिले २० जना राष्ट्रिय सभा सदस्यको कार्यकाल फागुन २० मा सकिँदैछ । राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ ।