प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

विद्यार्थीलाई जीवनोपयोगी स्वास्थ्य शिक्षा

२०८० भाद्र ७, बिहीबार ०८:३९ बजे

हेटौंडा – मनहरी गाउँपालिकाको आयोजनामा मनहरी–४ को पशुपतिनाथ माविका बालबालिकालाई जीवनोपयोगी सवास्थ्यशिक्षा प्रदान गरिएको छ ।

विद्यालयमा संचालन गरिएको विस्तृत स्वास्थ्य कार्यक्रममा हेटौंडा अस्पतालका ब्यवस्थापक डा. राम थापा क्षेत्रीले सहजीकरण गरेका थिए । कक्षा १ देखि १० सम्मका करिव ५०० विद्यार्थीलाई जीवनोपयोगी स्वास्थ्यशिक्षा, सीप र जनचेतनामूलक सामूहिक कक्षा संचालन गरिएको हो ।

गाउँघरमा कुकुरले टोक्दा रेबिज बिरुद्धको खोप अनिवार्य लगाउनुपर्ने, करेन्ट लाग्दा, पानीमा डुब्दा, सर्पले टोक्दा गर्नुपर्ने प्राथमिक उपचार पद्धति, सडक सुरक्षा, अग्निजन्य दुर्घटना, ब्यक्तिगत सरसफाई, आँखा पाक्ने प्रकोप, डेंगु आदिका बारेमा विद्यार्थीलाई जीवनोपयोगी ज्ञान दिइएको थियो ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतम, प्रधानाध्यापक भानुभक्त आचार्य, सप्रअ सुशील गौतमलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षक प्रतिनिधि ईश्वर रिजालले सहयोगी भूमिका निर्बाह गरेका थिए । यस्तै कार्यक्रम मनहरी–३ को महेन्द्रज्योति माविमा पनि आयोजना गरिएको थियो ।