हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेक प्वाईन्टबाट करिब ८ लाख नगद सहित ४ जना पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको बिआर ०१ एआर २९९१ को भारतीय कारबाट चार जनालाई आइतबार बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कार चालक भारतको बिहार राज्य सीतामणि थाना–९ भुभैरवो बस्ने वर्ष ३० का राकेशकुमार र सोही कारमा सवार सोही स्थानका वर्ष ३० का चन्द्रबाबु, वर्ष ३७ का अशोक राय र सुनसरी जिल्ला कोशी गाउँपालिका बस्ने वर्ष ३२ का निजाम मिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार उक्त कारको सिटमुनि लुकाई ल्याएको भारतिय रुपैया ५०० को नोट १०४२ थान, रु २०० को नोट ९३ थानमा, रु १०० को नोट ९३ थान, रु ५०को नोट ४ थान गरी भारतिय रुपैया ५ लाख ४९ हजार १०० रुपैया रामद भएको छ । यस्तै नेपाली रुपियाँ १ हजार दरका नोट १५० थान, ५०० को दरका नोट २०० थान गरी नेपाली रुपियाँ २ लाख ५० हजार रुपियाँ फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चार जनालाई कारसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।