प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेशको नीति तथा कार्यक्रम: सत्तारूढ दलभित्रै असन्तुष्टि

२०८० जेठ १८, बिहीबार ०३:३८ बजे

हेटौँडा – बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति प्रदेश सभाका सत्तारूढ दलका प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाउनुभएको छ।

प्रदेश सभाको बुधबारको बैठकमा आव २०८०र८१ का लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभाका सदस्यले प्रदेशबारे चुनौती र प्रश्न उठेको भन्दै प्रदेशको औचित्य पुष्टि गर्ने गरी प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि जनपक्षीय नीति तथा कार्यक्रम र बजेट आउनुपर्नेमा जोड दिएका छन्।

प्रदेश सभाका सदस्य डा दिनेशचन्द्र देवकोटाले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता अनुसार आव २०८०र८१ का लागि आएको नीति तथा कार्यव्रmमसँग तारतम्य नमिलेको र विपक्षी दलको सुझावलाई नसमेटिएको बताउनुभयो । उहाँले पुँजी निर्माण र सङ्कटमा रहेको अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेबारे नीति तथा कार्यक्रममा स्पष्ट छैन भन्नुभयो। प्रदेश सभा सदस्य गोविन्द लम्सालले शैक्षिक क्षेत्रको विषयमा पर्याप्त रूपमा नसमेटिएको, प्राकृतिक स्रोतसाधनको प्रयोगबारे मौन रहेको बताउनुभयो।

प्रदेश सभा सदस्य श्यामबहादुर खड्काले पहुँचका आधारमा एउटै क्षेत्रमा धेरै बजेट पार्ने तर कार्यान्वयन नहुने समस्या रहेको भन्दै यसप्रति ध्यानाकर्षण गराउनुभयो।

यस्तै प्रदेश सभा सदस्य जयराम थापाले नीति तथा मनोवाद जस्तो र कर्मकाण्डी जस्तो भएको भन्दै परिणाममुखी हुनेप्रति आशङ्का व्यक्त गर्नुभयो। उहाँले शिक्षालाई सिपमूलक बनाइनुपर्ने बताउनुभयो। प्रदेश सभा सदस्य रामकुमार पहाडीले सन्तुलित र दिगो विकासको कुरा गर्दै आए पनि कार्यान्वयन नभएकाले आगामी बजेट सन्तुलित रूपमा आउनुपर्नेमा जोड दिनुभयो।

प्रदेश सभा सदस्य गिरबहादुर तामाङले किसान परिचयपत्रसँगै बाली बमाको व्यवस्था हुनुपर्ने बताउनुभयो। प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठले अनौपचारिक शिक्षाबारे नीति तथा कार्यक्रममा समेट्न माग गर्नुभयो। प्रदेश सभा सदस्य उर्मिला सुनुवारले नीति तथा कार्यव्रmम नारामुखी भएको र ठोस कार्यक्रम नआएको बताउनुभयो। प्रदेश सभा सदस्य रमेशकुमार महतले खाद्य सुरक्षाका विषयलाई स्पष्ट रूपमा समेट्नुपर्ने र कृषि उपजको सवाललाई नीति तथा कार्यव्रmम र बजेटले सम्बोधन गर्नुपर्ने बताउनुभयो।

प्रदेश सभा सदस्यहरू मातृकाप्रसाद भट्टराई, ठुला थामी, शैलेन्द्रमान वज्राचार्य, ओमकुमारी श्रेष्ठ, भरतबहादुर केसी, समिता खड्की, किरण थापामगर, सुना परियार, अमनकुमार मास्के, मधुकुमार श्रेष्ठ, मीना पराजुली पोखरेललगायतले नीति तथा कार्यव्रmमका बारेमा बोल्दै समन्यायिक र समावेशी ढङ्गले आगामी बजेट आउनुपर्नेमा जोड दिनुभयो। प्रदेश सभाको बैठक बिहीबार १०स्३० बजेसम्मका लागि स्थगित गरिएको छ।

सङ्कल्प प्रस्ताव पारित

बागमती प्रदेश सभाले भारतको नवनिर्मित संसद् भवनमा राखिएको भारतको नक्सामा नेपालको समेत भूभाग अङ्कित गरेकोप्रति आपत्ति जनाउँदै सच्याउन सङ्कल्प प्रस्ताव पारित गरेको छ।

नेपालको समेत भूभाग अङ्कित गरी भारतको नवनिर्मित संसद् भवनमा बनाइएको नक्सा सच्याउन मागसहित प्रदेश सभाको बुधबार बसेको बैठकले सङ्कल्प प्रस्ताव पारित गरेको हो।

प्रदेश सभाको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक मधुसूदन पौडेलले भारतको संसद् भवनमा राखिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीसमेतलाई अङ्कित गरिएको भन्दै उक्त नक्सा सच्याउन सङ्कल्प प्रस्ताव पेस गर्नुभएको थियो। सो प्रस्ताव प्रदेश सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो।

“छिमेकी मुलुकको नवनिर्मित संसद् भवनमा राखिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीसमेतलाई अङ्कित गरिएकोप्रति ध्यानाकर्षण भएको छ, नेपालको कुनै पनि भूभाग कसैको पनि अधीनमा कहिल्यै नरहेको यथार्थ सर्वविदितै छ,” प्रमुख सचेतक पौडेलद्वारा प्रस्ताव गरिएको सङ्कल्प प्रस्तावमा भनिएको छ। उहाँले प्रदेश सभा बैठकमा सङ्कल्प प्रस्ताव पेस गर्दै उक्त नक्सा सच्याउन कूटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ।

प्रमुख सचेतक पौडेलले पेस गर्नुभएको सङ्कल्प प्रस्तावलाई नेपाली कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्ले, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य कुमारी तामाङ, नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टीका प्रदेश सभा सदस्य शैलेन्द्रमान वज्राचार्यले समर्थन गर्नुभएको थियो।

उक्त प्रस्ताव प्रदेश सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेस गर्नुभएकोमा बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो । गोरखापत्र दैनिकबाट