काठमाडौं – बिजुलीको उच्च भोल्टेजको तारमा चढेका माइला विकलाई नेपाली सेनाले उद्धार गरेको छ। तारमा चढेको करिब आठ घण्टापछि नेपाली सेनाको हेलिकप्टरमा पुगेको टोलीले उद्धार गरेको नुवाकोटाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए।
प्रजिअ रिसालले भने, ‘‘नेपाली सेनाको हेलिकप्टरमा आएको विशेष टोलीले भर्खरै बिजुलीको पोलबाट उद्धार गरेर प्रहरीलाई बुझाएको छ।’’ प्रजिअ रिसालका अनुसार पोलमा चढेको आठ घण्टापछि विकको सकुसल उद्धार भएको हो। उनी अहिले प्रहरी नियन्त्रणमा रहेका छन्।
नुवाकोट जिल्लाको ककनी गाउँपालिका–७ मा रहेको माथिल्लो त्रिशूली–३ ‘ए’ को उच्च भोल्टेजको तारमा नुवाकोट बेलकोटगढी नगरपालिका १३ घर भएका माइला विक चढेपछि शनिबार समग्र विद्युत प्रणालीमै असर परेको थियो।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार आठ घण्टादेखि त्रिशूली–३ ‘ए’ र अर्को सानो चार पाँच मेगावाटको आयोजनाको बिजुली प्रभावित भएको थियो। विकको उद्धार भए लगत्तै साँझ ७ बजेर ५८ मिनेटमा बिजुली चालु भएको प्रवक्ता भट्टराईले जानकारी दिए।
विक शनिबार बिहान ११ बजेदेखि उच्च भोल्टेजको बिजुलीको तारमा चढेको जानकारी आएपछि लाइन काटिएको थियो। उनी परिवारसँग झगडा गरेर बिजुलीको तारमा पुगेको स्थानीयले बताएका छन्।