प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सोझो सेटमा मकवानपुरगढी च्याम्पियन

२०७९ आश्विन १२, बुधबार १४:२६ बजे

हेटौंडा – बकैया गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै मकवानपुरगढी गाउँपालिकाले जिल्लास्तरीय महिला भलिबलको उपाधि जितेको छ ।

बुधबार हेटौंडा–४ स्थित हुप्रचौरको कोर्टमा भएको खेलमा बकैयालाई ३–० को सोझो सेटमा पराजित गर्दै मकवानपुरगढी च्याम्पियन बनेको हो ।

फाइनलमा मकवानपुरगढीले बकैयालाई २५–१५, २५–१९ र २५–१३ को सेटमा पराजित गरेको हो। उपाधि विजेता मकवानपुरगढीले नगद ५० हजार सहित शिल्ड, मेडल हात परेको छ । त्यस्तै उपविजेता बकैयाले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडलमै चित्त बुझाएको छ ।

व्यक्तिगत विधातर्फ सेमिफाइनल पुगेका तीन टोलीका खेलाडी उत्कृष्ट बने। मकवानपुरगढीका सुस्मिता योञ्जन उत्कृष्ट खेलाडी, सञ्चमाया स्याङ्तान उत्कृष्ट स्पाइकर, श्रृषा लोप्चन उदीयमान खेलाडी र रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भइन्।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट सेटर बकैयाकी कुसुम भोम्जन, उदीयमान खेलाडी थाहा नगरपालिकाकी रोजिना स्याङ्तान र बकैया गाउँपालिकाकी दिपिका कार्की घोषित भइन्।

विकेशलाल श्रेष्ठ स्मृति केन्दिय प्रतिष्ठानको आयोजना भएको प्रतियोगिताको विजेता र उपविजेतालाई हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले पुरस्कार प्रदान गरेकी थिइन् ।