काठमाडौं - एसिया कप २०२३ खेलेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीले दुई महिनामा क्रिकेटका दुई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । ती दुवै प्रतियोगिता टी–२० फर्म्याटमा सञ्चालन हुँदैछन्। असोजमा चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा नेपाली क्रिकेट टिमले भाग लिँदैछ।
एसियाली खेलकुदको क्रिकेटतर्फको प्रतिस्पर्धा असोज १० देखि सुरू हुँदैछ। प्रतियोगिताको पुरुषतर्फ नेपाल समूह ‘बी’ मा परेको छ। समूहमा नेपालसँगै जापान र मंगोलिया छन्।
समूह विजेता बने नेपाल क्वार्टरफाइनल पुग्नेछ। क्वार्टरफाइनलमा टेस्ट राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशलाई सिधै स्थान पाएका छन् । चारै टिमले एसियाली खेलकुदका लागि सिनियर टिमलाई पठाउने छैनन्।
एसियाली खेलकुदमा समूह विजेता बनेको अवस्थामा नेपालले उल्लेखित चार मध्ये एक टिमसँग अन्तिम आठमा भिड्नेछ। अन्तिम आठमा जित हात पारेको अवस्थामा नेपालको क्रिकेटबाट एसियाली खेलकुदमा पहिलोपटक पदक जित्ने सम्भावना हुनेछ।
सेमिफाइनलमा जित हात पारे रजत, फाइनल जित हात परे स्वर्ण र हार बेहोरेमा कास्यका लागि खेल्ने अवसर प्राप्त हुनेछ।
असोजमा एसियाली खेलकुद खेलेपछि नेपालले कात्तिकमा अर्को महत्वपूर्ण प्रतियोगिता खेल्दैछ। कात्तिक १३ देखि नेपालले घरेलु मैदानमा आइसिसी टी–२० विश्वकप २०२४ को एसिया छनोट खेल्दैछ। छनोटमा नेपालसँगै युएई, ओमान, हङकङ, सिंगापुर, बहराइन, साउदी अरेबिया र मेलसिया भिड्दैछन्।
यसपटकदेखि क्षेत्रीय छनोटबाटै टी–२० विश्वकपका लागि सिधा छनोट हुने प्रावधान छ। यो छनोटको शीर्ष दुईमा पर्ने टिमहरू अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछन्।
नेपाल घरेलु मैदानमा आठ टिम मध्ये शीर्ष दुईमा परे दोस्रो पटक टी–२० विश्वकप खेल्नेछ। नेपालले पहिलो पटक २०१४ मा टी–२० विश्वकप खेलेको थियो। त्यसयता नेपाल विश्व छनोट हुन सकेको छैन ।