प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा ५ जनाको उम्मेदवारी

२०८१ मंसिर २६, बुधबार १९:५९ बजे

मकवानपुर – नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ। शुक्रबार हुने निर्वाचन कार्यक्रमका लागि बुधबार भएको उम्मेदवारी दर्तामा प्रेस चौतारी मकवानपुर र नेपाल प्रेस युनियन मकवानपुरको साझा उम्मेदवारको रुपमा बालकृष्ण अधिकारी, प्रेस संगठन नेपालबाट अञ्जली थापा, स्वतन्त्रबाट पोष्टराज अधिकारी, सुरेश श्रेष्ठ र शिव कुमार रिजालको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक भानुभक्त आचार्यले जानकारी दिए।

उपाध्यक्ष (खुल्ला) मा गणेश अधिकारी, ध्रुव अधिकारी र रविन्द्र गौतमले उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष महिलातर्फ भावना रिजाल र प्रतिक्षा न्यौपानेले उम्मेदवारी दर्ता भएको छ। सचिव पदका लागि पनि ३ जनाले मनोनयन दर्ता गरेका छन्। जसमा केशव सुवेदी, इन्द्रबहादुर बञ्जरा र अशोक सुजन श्रेष्ठ रहेको समिति संयोजक आचार्यले बताए।

कोषाध्यक्षमा प्रदिप अधिकारी र एमपी शर्मा, सह–सचिव (खुल्ला)मा विश्वराम अधिकारी र शिवप्रसाद चौलागाईको उम्मेदवारी दर्ता भएको छ। सहसचिव (समावेशी)मा सन्नु रिजाल र रुपा गुरुङ, सदस्य (दलित) मा संजीव सुनार र सुमित विश्वकर्मा, सदस्य (महिला) मा स्मिता अर्जेल र जमुना थिङ, सदस्य (जनजाति) मा सानुमाया गुरुङ र जयराम मोक्तानले उम्मेदवारी दिएका छन्।

यता, आवश्यक ६ जनाको खुल्ला सदस्यमा १३ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा जीवराज बख्रेल, कृष्णा विष्ट (सुनिता), कुमारमणि हुमागाईँ, मञ्जिता मैनाली, श्रीराम अर्जुन दहाल, रविन ढुंगाना, सरोज पौडेल, सुमन दाहाल, विवेक सिन्तान, अशेष ढुंगाना, अनिल पराजुली र नवराज वाइवाको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक आचार्यले जानकारी दिए।

यस्तै, केन्द्रीय परिषद् सदस्यमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा कमलचन्द्र सुमन, नवराज शर्मा र सुजन विडारी छन्। विभिन्न २८ पदमा ४९ जनाले उम्मेद्वारी दिएकोमा ८ जना निर्विरोध निर्वाचित भएका छन् । सदस्य (मधेसी) मा मनिल महतो, प्रदेश परिषद् सदस्यमा सुनिल सिवाकोटी, कपिल खड्का, अनिष लुइँटेल, सरला अधिकारी, बलराम पुडासैनी र नवीन आलेमगर, केन्द्रीय परिषद् सदस्य (समावेशी) तर्फ कृष्णराम परियार निर्विरोध निर्वाचित भएका छन् ।

महासंघको निर्वाचन कार्यक्रमअन्तर्गत शुक्रबार मतदान हुनेछ। जसमा एक सय १७ जना मतदाताले मतदान गर्नेछन्।