काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल एकै पटक आठ स्थान तल झरेको छ । फिफाले बिहीबार बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल आठ स्थान तल झरेको हो ।नयाँ वरीयतामा नेपाल १ सय ७६ औं स्थानमा पुगेको छ ।अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको थियो ।
नेपालले कुवेतमा एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको तीन वटै खेलमा नेपाल पराजित भएको थियो । सोही खेलको नतिजाको असर फिफा वरीयतामा परेको हो । छनोट अन्तर्गत नेपाल पहिलो जोर्डनसँग २–०,दोस्रो खेलमा कुवेतसँग ४–१ र तेस्रो खेलमा इन्डोनेसियासँग ७–० गोलले पराजित भएको थियो ।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दाअघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ४ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५६ औं स्थानमा रहेको छ ।
नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । बंगलादेश १ सय ९२ औं, भुटान १ सय ८६ औं, पाकिस्तान १सय ९६ औं र श्रीलंका २ सय ७ औं स्थानमा रहेका छन् ।
फिफाको नयाँ वरीयताको शीर्ष स्थानमा ब्राजिल रहेको छ । क्रमशः बेल्जियम दोस्रो, अर्जेन्टिना तेस्रो, फ्रान्स चौथो र इङ्ग्ल्यान्ड पाँचौँ स्थानमा रहेका छन् । त्यस्तै स्पेन, इटली, नेदरल्यान्ड्स, पोर्चुगल र डेनमार्क शीर्ष दशमा अटाएका छन् ।