काठमाडौं – आईसीसी विश्वकप लिग टूको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि २ सय १३ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनायो । स्कटल्याण्डका लागि आज जन्मदिन मनाईरहेका जर्ज मुन्शेले ५० बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले ।
उनले ४६ बलमा ७ चौका र २ छक्काको सहयोगमा अर्धशतक बनाएका थिए । उनको यो ११ औं एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक हो ।
म्याथ्यु क्रसले ६३ बलमा ४२ रन बनाउँदा ब्राण्डन म्याकमुलनले ३१ रन, क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२र२२ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चिएर ४ विकेट लिए । करण केसीको नाममा ३ विकेट रहँदा कुशल मल्ल र ललित नारायण राजवंशीले समान १र१ विकेट लिए ।
यस खेलमा नेपालका बलर करण केसीले एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट लिएका छन् । केसीले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । यस अघि पूर्व कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले ५० विकेट पूरा गरेका थिए ।