काठमाडौँ – पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साताव्यापी रूपमा मनाइरहेको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा सार्वजनिक गरेको विवरणअनुसार वैदेशिक रोजगार बोर्ड स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म १४ हजार २१३ जनाको मृत्यु भएको हो।
उक्त अवधिमा ३ हजार ४४० जना गम्भीर बिरामी र अङ्गभङ्ग भएका श्रमिक स्वदेश फर्किएका छन्। उनीहरूलाई वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।
नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीको महत्त्वपूर्ण भूमिका रहेको छ। आर्थिक वर्ष २०८०÷८१ मा वैदेशिक रोजगारीबाट १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। यो रकमले आप्रवासी श्रमिकका परिवारको आर्थिक सुधार, गरिबी न्यूनिकरण, र नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पु¥याएको छ।
नेपाल सरकारको २०८१÷८२ को नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन विभिन्न सुधारका उपायहरू समावेश गरिएका छन्। निःशुल्क अभिमुखीकरण तालिम, श्रम सम्झौता पुनरावलोकन, थप गन्तव्य मुलुकसँग समझदारी, र रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने योजना रहेको मन्त्रालयले जनाएको छ।गोरखापत्रबाट