प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

थप ४ किलो सुन बरामद

२०८० आश्विन १४, आईतबार १९:५१ बजे

काठमाडौं – दोलखाको बिगु गाउँपालिका–१, लामाबगरबाट प्रहरीले थप ४ किलो सुन बरामद गरेको छ । अन्दाजी २७ वर्षीय अशोक मगरको घर नजिकै रहेको ठुलो ढुङ्गामाथि झारले छोपेर राखेको अवस्थामा थप चार केजी सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रहरीले लामाबगर नाका हुँदै भित्रिएको सात किलो सुन र त्यसमा संलग्न व्यक्तिहरू पक्राउ गरी सार्वजनिक गरेको गरेको थियो । प्रहरीले आज आइतबार थप चार किलो सुन बरामद गरेको हो ।

सुन तस्करीको आरोपमा हालसम्म एकै गाउँका सात जना पक्राउ परेका छन् भने अहिलेसम्म ११ केजी सुन बरामद भएको छ । चीनले केही समयका लागि खोलेको दोलखाका लामाबगर क्षेत्रको नाका हुँदै सुन तस्करी बढेपछि यो क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ । फरार अभियुक्तको खोजीमा समेत प्रहरी सक्रिय बनेको छ ।

यो सुन दोलखाको चीनसँगको फलेक नाकाबाट आएको हो । प्रहरीका अनुसार यो सधैँ बन्द रहने नाका भए पनि विभिन्न स्थानबाट लुकिछिपी मानिसहरू आवतजावत गर्ने गरेका छन् ।