हेटौंडा – बाग्मती र लुम्बिनी प्रदेशमा आज नयाँ सरकार बन्ने भएको छ । अल्पमतमा परेका दुवै प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएपछि आज एमाले–कांग्रेसको नयाँ समीकरणअनुसार नयाँ सरकार बन्न लागेको हो ।
दुवै प्रदेशमा नयाँ सरकार गठनका लागि आइतबार नै प्रदेश प्रमुखले दाबी पेश गर्न आह्वान गरेका थिए । यसअघि आइतबार नै बाग्मतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका थिए ।
त्यसलगत्तै बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न साउन ८ गते साँझ ५ बजेसम्मको समय तोकेका छन् ।
यस्तै, लुम्बिनी प्रदेशमा नयाँ सरकार नको लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका थिए । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका दावी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन् ।
बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आजै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । नेकपा एमालेको समर्थनमा लामाले आज सोमबार १० बजेपछि मुख्यमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।
मुख्यमन्त्री बन्न लागेका कांग्रेस संसदीय दलका नेता लामा २०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा नुवाकोट २ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
पेसाले निर्माण व्यवसायी उनी २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएका थिए । लामा २०५४ सालमा गाविस अध्यक्ष बनेर जनप्रतिनिधिको भूमिकामा रहेर काम गरिसकेका नेता हुन् ।
१३ पुस ०७९ मा भएको नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा लामा विजयी भएसँगै मुख्यमन्त्री हुने ढोका खुलेको थियो । दलको नेता छान्न भएको निर्वाचनमा उनले इन्द्रबहादुर बानियाँलाई पराजित गरेका थिए ।
यसैगरी लुम्बिनीमा अब एमाले नेतृत्वमा नयाँ सरकार बन्ने छ । मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने भएका छन् । त्यसको लागि आज दिउँसो १ बजे प्रमुख प्रमुख समक्ष एमाले र कांग्रेससहित साना दलको पनि हस्ताक्षरसहित दाबी पेश गर्ने दलहरूको तयारी छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ । प्रदेशसभा एमालेका २९ र कांग्रेसको २७ मत छ ।