प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

उच्च पहाडी र हिमाली भेगमा हिमपात, तराईमा हुस्सु लाग्‍ने

२०८० पौष २४, मंगलबार ०७:३० बजे

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति भने देशभर आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने तथा तराई भूभागका केही स्थानहरूमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने तथा दिउँसोसम्ममा क्रमिक रुपमा सुधार हुँदै जान सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।