प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राष्ट्रिय यू–१७ फुटबल टिमको खेलाडी छनोट सोमबारबाट, मकवानपुरका ११ खेलाडी सहभागी हुने

२०७९ श्रावण ८, आईतबार १५:२४ बजे

हेटौंडा – अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि खेलाडी छनोट श्रावण ९ गते सोमबारबाट गर्दैछ । एन्फाले साफ यू–१७ च्याम्पियनसिप र एएफसी यू–१७ एसियन कप छनोटका लागि देशभरबाट खेलाडी बोलाएर छनौट गर्न लागेको हो । 

त्यस्तै यू–१७ छनोटका लागि मकवानपुरबाट ११ जना खेलाडी जाने भएका छन् । हेटौंडा फुटबल एकेडेमीका ११ जना खेलाडी छनोटमा सहभागी हुने एकेडेमीका प्रशिक्षक भीम लामाले जानकारी दिए । उनले उनीहरुलाई एक कार्यक्रम आयोजना गरी विदाई समेत गरिएको लामाले बताए । 

उनका अनुसार हेटौंडा–१४ का अस्मिर गोङ्बा, मनहरीका अबिन लामा, हेटौंडा–११ का दिनेश लामा, हेटौंडा–१५ का असिम मोक्तान र सनिश लामा, हेटौंडा–३ का विनित लामा, हेटौंडा–१२ का प्रजेश लामा, हेटौंडा–७ का सुजन तितुङ, भीमफेदीका शक्तिमान थिङ र हेटौंडा–४ का प्रिन्स भण्डारीले छनोटमा सहभागी जनाउने छन् । 

एन्फाले साफ यू–१७ च्याम्पियनसिप र एएफसी यू–१७ एसियन कप छनोटका लागि खेलाडी छनोट गरिने सुचना श्रावण ४ गते जारी गरेको थियो । एन्फाले २०६२ साल पुस १६ पछि जन्म भएका खेलाडीलाई मात्र छनोटमा सहभागी गराईने र बसोवास, खानपान तथा यातायातको खर्च खेलाडी आफैले ब्यहोर्नु पर्ने जनाएको थियो ।

श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ । यस्तै भियतनाममा हुने यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।