प्रहर खबर
 २०८० जेठ २०, शनिबार    

बागमती प्रदेशसभा बैठक सारियो, कांग्रेसले विश्वासको मत दिने, एमालेको राख्यो शर्त

२०७९ चैत्र ८, बुधबार १८:२२ बजे

मकवानपुर – नेपाली कांग्रेस सांसद अनुपस्थित हुने भएपछि बागमती प्रदेशसभाको बैठक चैत १० गते बस्ने गरी सारिएको छ । बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक १० गते बस्ने गरी सारिएको हो ।

अब प्रदेशसभाको बैठक चैत १० गते दिउँसो १ बजे बस्ने छ। आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने गरी प्रदेशसभा बैठक बोलाइएको थियो । तर आफूहरुसँग सल्लाह नगरी विश्वासको मतसम्बन्धी प्रस्तावबारे मुख्यमन्त्री अगाडि बढेको भन्दै कांग्रेसले आफ्ना सांसद बैठकमा उपस्थित हुन नसक्ने जनाएको थियो ।

कांग्रेसले विश्वासको मत दिने

नेपाली कांग्रेसले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री जम्कट्टेलले बुधबार विश्वासको मत लिने तयारी गरेका थिए । तर कांग्रेसले निर्णय गर्न ढिला गरेका कारण बुधबारका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ । बुधबार काठमाडौंमा बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले जानकारी दिए ।

सरकारबाट बाहिरिन एमालेले राख्यो शर्त

नेकपा एमालेले पनि माओबादी नेतृत्वको सरकार छोड्दा प्रदेशसभा बैठकमा संबोधन गरेर मात्र सरकार छोड्ने अर्को सर्त राखेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको राजनीतिक समीकरणका आधारमा बागमती प्रदेश सरकारमा हेरफेरको तयारी भइरहँदा सत्तामै रहेको एमालेले राजीनामाका लागि शर्त अघि सारेको हो । बागमती प्रदेशसभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आफूहरु प्रदेश सरकारबाट हट्न तयार रहेको तर प्रदेशसभा बैठकमा आफ्ना धारणा राखेरमात्र राजीनामा दिने प्रस्ट पारे ।

नेकपा एमालेको मिसन ग्रासरुट अभियानको मुख्य कार्यक्रम रहेकोले चैत १० र ११ गते प्रदेश सभामा उपस्थित हुन नसक्ने भएकोले १२ गते प्रदेश सभा बैठक राख्न लिखित अनुरोध गर्ने समेत निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक मधुसूदन पौडेलद्वारा जानकारी दिए ।