काठमाडौं – आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले युएईलाई २४९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाउन सक्यो ।
नेपालका कप्तान रोहित पौडेलले १ सय १२ बलमा ९ चौकासहित सर्वाधिक ७७ रनको योगदान दिए । कप्तान पौडेलले ९ चौका प्रहार गरेका थिए ।
दीपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन, आरिफ शेखले ५२ बलमा ४३ रन बनाउँदा गुलसन झाले ३२ बलमा ३७ रन बनाए । भिम सार्कीले ३७ बलमा २९ रन बनाए ।
दोस्रो ओभरमा नै पहिलो विकेट गुमाएको नेपालले ७ ओभर १ बलमा ३ विकेट गुमाएको थियो । चौथो विकेटका लागि कप्तान रोहित पौडेलले भिम सार्कीले अर्धशतकिय साझेदारी गरेका थिए । ७६ रन हुँदा चौथो विकेट गुमाएको थियो ।
चौथो विकेट पछि क्रिजमा आएका आरिफ शेख र रोहित कुमार पौडेलबीचमा अर्धशतकीय साझेदारी भएसँगै नेपाल बलियो स्थितिमा पुगेको थियो ।
युएईका आयन खानले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । रोहन मुस्तफाले ९ ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । जवार फरिदले ३ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । जहुर खानले ८।२ ओभरमा १ मेडनसहित ३५ रन खर्चेर २ विकेट लिए । आर्यन लाक्रा र जुनैद सिद्दिकले एक एक विकेट लिए ।