प्रहर खबर
 २०८३ कार्तिक ३, सोमवार    

टिकटकमा अनलाइन जुवा खेलाउने हरिसचन्द्र प्रहरीको फन्दामा

२०७९ माघ ५, बिहीबार ०८:५१ बजे

हेटौंडा – टिकटकमा अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूकुम (पूर्वी) पुथा गाउँपालिका–५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ल रहेका छन् ।

उनले ई–सेवा लगायत अन्य डिजिटल वालेटमा बिभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाएर लाभ लिने उद्देश्यले टिकटकमा लाईभमार्फत् रकमको बाजी राख्न लगाएर जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ ।

काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई टिकटक लाइभमार्फत जुवा खेलाएर रहेको अवस्थामा मंगलबार पक्राउ गरेको हो ।

मल्लले ‘क्विक क्यास’ नामक टिकटक आईडी खोलेर दुईवटा ई–सेवा वालेटमा बिभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाएर १५ दिनको अबधिमा ८ लाख ५३ हजार ३ सय ३१ बराबरको रकम टिकटक लाइभ जुवामार्फत कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनको साथबाट जुवातास खेलाउन प्रयोग भएको स्मार्टफोन १ थान, तास खेल्ने व्यक्तिहरूको नाम र रकम उल्लेख भएको रजिस्टर १ थान र जुवा खेलाउन प्रयोग भएका तास ३ बुक प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर राखिएको छ ।

सांकेतिक तस्वीर