मकवानपुर – मनहरी गाउँपालिका-९, खरंगा नजिकै पूर्व-पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जना सैनिक कर्मचारी घाइते भएका छन्। चितवनबाट हेटौंडातर्फ जाँदै गरेको मधेस प्रदेश-०३०३४ प २८९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा उक्त दुर्घटना भएको हो।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सल्यान बाघचौर नगरपालिका-४ डाँडा गाउँ निवासी २९ वर्षीय गणेश पुन र पछाडि सवार रुपन्देही बुटवल उपमहानगरपालिका-१३ बयलबास निवासी २८ वर्षीय निखिल पाण्डेलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएको छ। गणेश पुनको शरीरका विभिन्न भागमा चोट लागेको छ भने निखिल पाण्डेको टाउको, हात, र खुट्टामा चोटपटक लागेको छ।
प्रदेशका अनुसार कार्तिक १९ गते साँझ ५:३० बजे भएको यो दुर्घटनामा घाइते भएका दुवैजनाको परिचय मध्यपूर्वी पृतना शिक्षालय, सर्लाही लालबन्दीमा तालिमरत लेस नायकको रुपमा खुलेको छ। दुर्घटनामा मोटरसाइकल अनियन्त्रित भएको कारण देखिएको छ। थप उपचारका लागि साँझ ६:५५ बजे दुवैजनालाई सैनिक अस्पताल छाउनी, काठमाडौं पठाइएको छ।