प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

घरेलु टोली विजय युथ मकवानपुर गोल्डकपको फाइनलमा

२०७९ जेठ २७, शुक्रबार १३:५२ बजे

हेटौंडा – विजय युवा क्लब, हेटौंडा चौथो स्थानीय तह शहीद स्मारक मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा विजय युथले नेपाल पुलिसलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

विजय युथलाई जित दिलाउनका लागि पेपेले निर्णायक गोल गरे ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलोमा गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ७ अर्थात खेलको ५२ औँ मिनेटमा विजय युथका डिफेण्डर पेपेले अमिर श्रेष्ठले प्रहार गरेको कर्नरमा हेड गर्दै गोल गरे । 

बाँकी समय पुलिसले राम्रो अवसर पाए पनि गोल गर्न सकेन । उता विजय युथले पनि पाएको अवसर गोलमा परिणत गर्न सकेन । पेपेले गरेको गोलले नै विजय युथले फाइनलको यात्रा तय गर्योे । 

टोलीलाई फाइनलमा पुर्याउन लागि निर्णयक गोल गरेका पेपे खेलको म्यानअफ द म्याच घोषित भए । उनले नगद १० हजार सहित ट्रफि हात पारे ।

अब विजय युथले उपाधीका लागि दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र एभिनियर एफसी, क्यामरुन बीचको विजेतासँग खेल्नेछ। आर्मी क्लब र एभिनियर एफसीबिचको खेल भोली दिउँसो साढे ३ बजे सुरु हुनेछ ।

यसअघिको खेलमा विजय युथले नव जनजागृतीलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । पुलिसले स्टार खेलाडीले भरिएको मनाङ मस्र्याङदीलाई पराजित गर्दै समिफाइनलमा प्रवेश गरेको थियो ।

मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेताले १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।

त्यस्तै विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ ।

प्रतियोगितामा देशका शीर्ष क्लबसहित १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।