हेटौंडा – बागमती प्रदेशको प्रदेशसभाका दलहरुले संसदीय दलको नेता छान्ने भएको छ ।
बागमतीको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले पुस १३ गते हेटौंडामा दलको नेता छान्न निर्वाचन गर्ने भएको छ । दलको नेताको लागि कांग्रेसबाट प्रदेश सभापति इन्द्रबहादुर बानीयाँ तथा केन्द्रीय सदस्य बहादुर लामाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बागमती प्रदेशको संसदीय दलको नेता छान्न पुस १४ गते हेटौंडामा संसदीय दलको बैठक राख्ने भएको छ । बैठकले सकेसम्म सहमतिको आधारमा, नभए लोकतान्त्रिक विधिबाट संसदीय दलको नेता चयन गर्ने बताईएको छ । एमालेबाट एमाले केन्द्रीय सदस्य जगन्नाथ थपलिया र केशवप्रसाद पोखरेलको नाम चर्चामा रहेको छ । प्रदेश सभाको दोस्रो ठूलो दल एमालेको यस प्रदेशमा २७ जना प्रदेश सभा सदस्य रहेका छन् ।
नेकपा माओवादी केन्द्रले पुस १६ गतेभित्र दलको नेता छान्ने जनाएको छ । माओवादी केन्द्रमा संसदीय दलको नेतामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेल, माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, सिन्धुलीबाट माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ र प्रदेशका पूर्वमन्त्री युवराज दुलालको दाबी रहेको छ ।माओवादी केन्द्रको यस प्रदेशमा २१ जना प्रदेश सभा सदस्य छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेशको संसदीय दलको नेतामा उद्धव थापा चयन भएका छन् । काठमाडौँ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ८ (ख) बाट प्रदेश सभा सदस्य थापा काठमाडौँमा सोमबार भएको संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन् । बागमती प्रदेश सभामा राप्रपाको १३ जना प्रदेश सभा सदस्य रहेका छन् ।
प्रदेश सभामा सात जना प्रदेश सभा सदस्य रहेको नेकपा (एकीकृत समाजवादी)को नेताको निर्वाचन रहेको बताईएको छ ।एकीकृत समाजवादीको संसदीय दलको नेतामा कृष्णप्रसाद शर्मा खनाल सर्वसम्मत चयन हुने सम्भावना रहेको छ । यसैगरी प्रदेश सभामा तीन जना प्रदेश सभा सदस्य रहेको नेपाल मजदुर किसान पार्टीको संसदीय दलको नेताको निर्वाचन प्रदेश सभा सदस्यको शपथपछि मात्र हुने भएको छ ।