काठमाडौं – नायिका मेरिना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका भिक्षु फुर्वा तामाङ रिहा भएका छन् । चौतर्फी दबाबका बीच भिक्षुमाथिको उजुरी फिर्ता लिन नायिका तयार भएपछि प्रहरीले उनलाई रिहा गरेको हो ।
सिभिल मलमा ‘कबड्डी ४’ हेरेर निस्किने क्रममा आफूलाई भिक्षुले ब्याड टच गरेको आरोप मेरिनाले लगाएकी थिइन् । तर, निर्दोषलाई फसाएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको छ । कबड्डी ४ टिमले नायिका र बुद्धिष्ट संघ–संस्थाबीच छलफल गराएको थियो । त्यसपछि दुवै पक्ष समझदारीमा पुगेका हुन् ।
जिल्ला प्रशासन कार्यालयको रोहबरमा तामाङलाई रिहा गरिएको काठमाडौं प्रहरीका प्रवक्ता दिनेश मैनालीले पुष्टि गरे ।अभद्र व्यवहारको कसुरमा तामाङमाथि प्रहरीको अनुसन्धान भने जारी रहने उनले बताए ।
अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले आइतबार मुगुको मुगूम कार्मारोङ गाउँपालिका–२ घर भएका २४ वर्षीय तामाङलाई पक्राउ गरेको थियो ।