काठमाडौं – देशमा हाल पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा सामान्यतया बदली छ भने कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।
आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका केही स्थानमा तथा बागमती र मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा, साथै बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने अनुमान गरिएको छ।
तराई र उपत्यकाका केही स्थानहरूमा बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। यसले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, तथा हवाई उड्डयनमा आंशिक प्रभाव पार्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।