काठमाडौं – सप्तकोशी नदीको पश्चिमी तटबन्धनबाट बेलका नगरपालिकाको बस्तीमा पानी पसेको छ । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेपछि बेलका–८ लाहुरे खोंच डुम्रीबोटलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिका–१, २, ३, ८ र ९ का दुई हजार घरपरिवार प्रभावित बनेका छन् ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार अहिले बेलका–८ लाहुरे खोंच डुम्रीबोटलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । बुधबार बिहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो । जसका कारण क्रमशः सप्तरी र सुनसरीमा जोखिम पर्ने देखिएकाले तीन जिल्लामा सतर्कता अपनाइएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ डुबानमा परिसकेको छ । नदीको धार पुरानो ठाउँमा फर्कने सम्भावना छ, प्रमुख जिल्ला अधिकारी यादवले भने –‘मानवीय क्षति रोक्न निषेधित क्षेत्र घोषणा गरेर उद्धारको काम भइरहेको छ ।’