काठमाडौं – रुपन्देहीको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कांग्रेस नेता एवं सहकारी अभियान्ता माधव देवकोटा र यादा क्षेत्री रहेका छन् ।
रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार बुटवलबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेको ना ६ ख ८१६१ ट्रकले ड्राइभरटोलमा लु ४९ प २२३० नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा देवकोटा र क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
देवकोटा र क्षेत्री मोटरसाइकलमा तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए । मृतक दुवैको शव मणिग्रामस्थित क्रिमसन अस्पतालबाट पोस्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । ्
देवकोटा कांग्रेस तिलोत्तमा नगरका नेता, तिलोत्तमा सहकारीका अध्यक्षसमेत हुन् । क्षेत्री दुर्गा मन्दिर तिलोत्तमा–२ जानकीनगरकी अध्यक्षसमेत रहेकी थिइन् ।