हेटौंडा – आन्तरिक राजस्व कार्यालय हेटौंडाले करदाता शिक्षाको विषयमा संञ्चारकर्मीहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ । राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा मंगलबार छलफल तथा अन्तरक्रिया गरेको हो ।
सोही अवसरमा करदाता सेवा कार्यालयले मूल्य अभिवृद्धि कर, स्थायी लेखा नम्बर, अन्तःशुल्क, व्यावसायिक तथा निकायगत रूपमा स्थायी लेखा नम्बर लिन आवश्यक कागजातहरू, आयकरको दर, मूल्य अभिवृद्धिमा जाने अवस्था, इटिडिएस, अन्तःशुल्क दर र करपाटी राख्नुपर्ने लगायतका विषयमा छलफल गरिएको हो ।
स्थायी लेखा नम्बर दर्ता, कर दर्ता, आयविवरण, मुल्य अभिबृद्धि कर दर्ता, अन्तशुल्क इजाजत, व्यवसायको अभिलेखिकरण लगायतका विषयमा आधारभुत जानकारी पत्रकारहरुमार्फत उद्योगी, व्यवसायी तथा संघसंस्थाका सञ्चालक समक्ष सहज रुपमा पुर्याउन सकिने आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराईले बताए ।
कार्यक्रममा उपस्थित पत्रकारहरुले कर अधिकृत समक्ष कर कार्यालयको सेवा प्रवाह अवस्था, कर्मचारीको व्यवहार,बजार अनुगमन, सेवाग्राहीहरुले भोग्नु पर्ने समस्याका बारेमा प्रश्न गरेका थिए । कर कार्यालयका अधिकांश काम विद्युतीय प्रणालीबाट गर्न सकिने र कार्यालयमा आएर गर्नु पर्ने कामका लागि करदाता सहायता कक्ष सञ्चालन गरिएको प्रमुख भट्टराईले बताए । उनले करदाताको माग अनुसार आगामी सेवा थप प्रभावकारी बनाईने प्रतिवद्धता ब्यक्त गरे ।
२०५४ साल मंसिर १ गते नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको थियो। मूल्य अभिवृद्धि कर लागु भएको दिनको अवसर पारेर २०७९ साल देखि प्रत्येकवर्ष मंसिर १ देखि ७ गतेसम्म सप्ताहव्यापी राष्ट्रिय कर दिवस मनाइने गरिन्छ ।
आन्तरिक राजस्व कार्यालय हेटौंडाका सुचना अधिकारी गुणराज भण्डारीले कर प्रणाली तथा कर सम्बन्धी विविध जानकारी दिएका थिए । यसवर्ष ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ शुभकामना आदान प्रदान तथा करदाता सम्मान, करदाता शिक्षा कार्यक्रम सम्पन्न गरिएको उनले बताए ।
उनले सप्ताहव्यापी कार्यक्रम उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरि समापन गरिने बताए ।कार्यक्रममा कर अधिकृत निरज काफ्ले, कमल प्रसाद अर्याल, पुरुषोत्तम गजुरेल, पत्रकार महासंघ मकवानपुरका शाखाका अध्यक्ष मणिराज गौतम लगायतका पत्रकारहरुको उपस्थिती रहेको थियो ।