प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पिकअप भ्यानको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु

२०८१ पौष ३, बुधबार २०:०६ बजे

तुलसीपुर – दाङको तुलसीपुरमा पिकअप भ्यानको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा लमही नगरपालिका–५ निवासी ५० वर्षीया लीला भुसालको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

तुलसीपुर इलाका प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ७ प ११३५ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आइरहेको रा १ च १३०० नम्बरको पिकअप भ्यानले ठक्कर दिएको हो। दुर्घटना तुलसीपुर–७ स्थित हात्तीखौवा ओरालोमा भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी लीलालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए।

स्कुटर चालक मृतककी छोरा २७ वर्षीय निमलाल भुसाल सामान्य घाइते भएका छन्। दुर्घटनामा संलग्न पिकअप र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, पिकअपका चालक फरार रहेकाले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।